काठमाडौं । आफूलाई नागरिक समाजको अगुवा, प्रगतिशील कानून व्यवसायी तथा नेकपाको सक्रिय कार्यकर्ता समेत बताउने अधिवक्ता शम्भु थापा रौतहटको राजापुरमा जिउँदै मान्छेलाई इट्टा भट्टामा जलाएर मारेको आरोप लागेका नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई जोगाउन सक्रियतापूर्वक लागेका छन् ।
सत्तारुढ दलनिकट थापा नै ज्यान फालेर आलम जोगाउन लागि परेपछि मान्छेले पैसाका लागि जे पनि गर्दोरहेछ भन्ने पुनः पुष्टि भएको छ । थापा लगायतका केही वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले ‘ज्यानमारा’ आलमको पक्षमा वकालत गर्न लागेको थाहा पाएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा चर्को विरोध गरेका छन् ।
जिउँदै मान्छे मार्नेलाई विदेशतिर भए सोही बेलै फाँसी हुन्थ्यो । तर नेपालमा जघन्य अपराध गरेपनि फाँसीको त के कुरा, झनै जोगाउनेतर्फ ठुलाबडाको नै सक्रियता बढ्ने गरेको छ । जसको पछिल्लो उदाहरण बनेका छन् वरिष्ठ अधिवक्ता थापा । आफूलाई कानूनी शासन र विधिको नियन्त्रण भनेर कहिल्यै नथाक्ने थापा आफै नै अपराधी जोगाउन लागेपछि सर्वसाधारण औंला टोक्दै उनको कटाक्ष गर्न बाध्य भएका छन् ।
तत्कालीन संविधानसभाको निर्वाचनमा उदयपुरबाट एमालेको तर्फबाट टिकट पाएर चुनावमा भिडेका थापा झण्डै जमानत जफतको अवस्थामा पुगेको सर्वसाधारण सम्झन थालेका छन् । वरिष्ठ अधिवक्ता थापा यतिखेर किन अपराधीको पक्षमा बहस गर्न लागिपरे भन्ने बारेमा आममानिसमा चासो उत्पन्न भएको छ ।
थापा राजनीतिमा सफल नभए पनि व्यावसायिक हिसाबमा एउटा आइकन मानिन्छन् । उनलाई चिन्ने जान्ने यस्तै भन्छन् । तर आलमलाई जोगाउने शर्तमा उनी वकालतका लागि अनुबन्धन भएको विवरण बाहिर आएपछि अहिले आमचासोको विषय बनेको छ । कोही कसैले पनि उनको त्यो व्यवहारलाई राम्रो मानेका छैनन् ।
कानून व्यवसायीले पीडित वा पीडक जो सुकैको पक्षबाट पनि बहस गर्न पाउँछ । तर, त्यसका पनि केही सामाजिक र नैतिक मूल्य तथा मान्यता हुन्छन् । आलमले घटाएको जघन्य घटनामाथि लागेको पर्दा पीडितहरुको बयानबाट खुल्न थालेको छ ।
तर यही अवस्थामा थापाले ती सबै मूल्य तथा मान्यता भत्काएका छन् । उनले अपराधीको पक्षबाट बहस गर्दा कानूनी राज र उनले भन्दै आएको विधिको शासनको विषय कहाँनिर जोडिन्छ भन्ने प्रश्न आमरुपमा उठेको छ । उनले आफूलाई लोकतन्त्रको मसिहाको रुपमा समेत चिनाउने गरेका छन् । तर राजश्व अनुसन्धानले आफूलाई छानबीन गर्न पाउँदैन भन्दै उनले केही वर्ष पहिले राम्रैसँग हर्कत गरेकै थिए ।
पछिल्लो पटक उनी आलमको पक्षमा देखिनुले पनि उनले आफैले भनेको कानूनको सर्वोच्चता कहाँनेर छ भन्ने प्रश्न खडा भएको हो । जसले जतिसुकै तर्क गरे पनि अपराधी जोगाउन थापा लागेको भन्ने स्थापित भएको तथ्य अब कोही कसैले पनि होइन भन्न सक्ने अवस्था छैन । जुन कुरा पीडितहरुको बयानबाट पनि पुष्टि हुन्छ । पीडितको बयान आफ्नो पक्षमा नआएपछि आलमले रचेको प्रपञ्चले उनको आपराधिक मानसिकता कस्तो हो भने झनै उजागर भएको छ ।
आलमले मच्चाएको तान्डव र जघन्य घटनाले बर्बरताको सीमा नाघेको थियो भन्ने कुरा हाल दैनिकरुपमा पत्रपत्रिकामा आएका समाचार र यसमा बोल्ने पीडितको बयानले पनि यो कुरा पुष्टि गरेको छ । त्यतिमात्र होइन, त्यसबेलाका प्रहरी प्रमुख, क्षेत्रीय प्रहरी प्रमुख, घटना अनुसन्धानका निम्ति तम्सिएका तत्कालीन इकाइका सुरक्षा अधिकारीको बयानले पनि यसलाई साबित गर्ने कोशिस गरिरहेका छन् । तर वरिष्ठ अधिवक्ता शम्भु थापा कानुनका किताबको चाङ बोकेर यी सबै प्रमाण विरुद्ध उभिन तयार भएका छन् ।
कानुनकर्मीका लागि कसैका पक्षमा उभिनु पेशागत धर्म हुनसक्छ । तर थापा जस्तो सार्वजनिक मानिसका लागि कतिसम्म ठिक होला ? यो बिझाइरहने प्रश्न बन्न पुगेको छ । आलम प्रकरण कानुनी दाउपेचको क्षम्य विषय मात्र होइन भन्ने प्रमाण राष्ट्रिय मानव अधिकार आयोगले सुरु गरेको छानबिनले पनि तथ्यगत रुपमा बाहिर ल्याएको छ । आयोगका कतिपय पदाधिकारी त्यस घटनाका पीडित लगायतसँगको बयान लिन फिल्डमा नै छन् । त्यसैले यसलाई मानव अधिकारको कसीमा समेत राखेर हेरिएको छ । जुन मानवताविरोधी जघन्य अपराध नै हो ।
आफूलाई कानूनको जानकार बताउने थापाले यस प्रकरणमा सरकारी निकायका अधिकारी, छानबिन अधिकारी, पीडितलाई अदालतको कठघरामा कसरी उभ्याउलान् ? कसरी आलम निर्दोष हुन् भन्लान् ? त्यो विषय भने खोजबिनकै विषय छ । तर थापाको व्यवहार लोकतन्त्र र मानव अधिकारको कसीमा सर्वथा गलत छ, जघन्य नै छ । उनले कानूनका नौ सिङको व्याख्या गर्लान्, अधिवक्ताको पगरी लगाएर उनले तर्क, कुतर्क सबै गर्लान् तर थापा मानव अधिकार र न्यायको पक्षमा सधैँ आवाज बुलन्द गर्ने अभियन्ता समेत रहेकाले उनी पनि आम मानिसको प्रश्नको कठघरामा उभिनुपर्ने अवस्था आइलाग्ने छ ।
आलम प्रकरण लुकाउनका लागि सहयोग गर्ने त्यसबेलाका जिल्ला प्रहरी प्रमुख, सशस्त्र एसपी जति दोषी ठान्छ भुईँमान्छेले, यसबेला आलमको प्रतिरक्षाका लागि उभिने वकिललाई मानवीयता, मानव अधिकारको कसीमा राखेर मूल्यांकन पनि गर्ने छन् । किनकि ती भनेका समाजका अग्रपंक्तिमा रहेका अनुहार हुन् भनेर आममानिसले चिनेका छन् ।
पीडितलाई अझ पीडित बनाउनका निम्ति उभिने वकिललाई कसरी वरिष्ठ अधिवक्ता, संविधानका जानकार, संविधानविद् या अनेक उपमा दिन सकिएला ? भन्ने प्रश्न खडा भएको छ । यो प्रश्नको उत्तर थापाले आफू नागरिक समाजको अगुवाको रुपमा दिनु पर्छ कि पर्दैन होला ?
बम विस्फोट गराउनु, त्यसमा सर्वसाधारण मारिनु, केही घाइते हुनु, तिनलाई इटाको भट्टीमा छिराउनका लागि जिउँदै हातखुट्टा गिँड्नु जस्ता विवरण सतहमा आएका छन् जसलाई प्रकारान्तरमा पनि मानवीय काम भन्ने अर्थ विल्कुल लाग्दैन । यस्तो विवरण सतहमा देखिएका बेला त्यसैको पृष्ठपोषणमा उभिनु, अभियुक्तलाई घटना नै भएको छैन भन्ने यथार्थ सिद्ध गराउन तम्सिनुको अर्थ के हो ? यसको जवाफ थापाले आमनागरिकलाई दिनै पर्छ ।
पेशागत मर्यादाको कसी त होला तर आजीवन अपराधको मसीमा लत्पतिने छन् शम्भु थापाजस्ता आफूलाई न्यायकर्मी बताउनेहरु । यदि थापाले आलमविरुद्धको मुद्दा जिते भने तिनलाई न्यायकर्मी भन्ने कि अर्को कुनै शव्द छ कानुनको किताबमा ? आममानिसले कानून के हो, कानून के होइन भन्ने बुझ्दैनन् । तर शम्भु थापाहरु अपराधी जोगाउन भन्दै त्यही कानूनको ठेलीको अपव्याख्या गरिरहेका छन् ।
थापा नउभिए पनि कोही न कोही आलमको पक्षमा उभिने नै थिए, यो न्यायिक प्रक्रियाको यथार्थ नै हो । तर, थापा नै किन उभिनु पर्यो भन्ने प्रश्न अहम् रहेको जानकारहरुको भनाइ छ । अपराधीको पनि मानव अधिकार र कानूनी उपचार खोज्ने स्वतन्त्रता नेपालको संविधानले दिएको छ । तर थापा नै त्यसमा किन लागे भन्ने महत्वपूर्ण र संगीन प्रश्न हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ कार्तिक २०७६, १४ : ५४
लेखकबाट थप