चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : चिनियाँ राजदूत

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, १४ : ०५
चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा विचार निर्यात नगर्ने बताएकी छिन् । चीन अध्ययन केन्द्रले काठमाडौंमा बिहीबार सी जिनपिङ विचारधाराबारे आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै देशको आन्तरिक मामिलामा समेत चीनले कहिल्यै हस्तक्षेप नगर्ने धारणा राखिन् ।

नेकपा केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख वक्ता रहेको सो कार्यक्रममा चिनियाँ राजदूतले सी विचारधारा पहिले नै अन्तर्राष्ट्रियकरण भइसकेको बताइन् । नेपालमा सी विचारधाराबारे चीनले बहस शुरु गरेर अन्तर्राष्ट्रियकरण गरेको भनी कतिपयले टिप्पणी गरेका बेला राजदूतको यस्तो धारणा आएको हो ।

कार्यक्रममा राजदूत यान्छीले चीन कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको बैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरेकी छन् । हालै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको बैचारिक बहसलाई विपक्षी कांग्रेस पार्टी लगायतले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस