प्रथम तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब लगानी भित्र्याउने लक्ष्य

विहीबार, ०९ असोज २०७६, १३ : ४५
प्रथम तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब लगानी भित्र्याउने लक्ष्य

रुपन्देही । प्रथम तिलोत्तमा लगानी सम्मेलन रुपन्देहीको कोटिहवामा सुरू भएको छ। सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै लगानी सुरक्षित हुने बताए । 

करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।
बिहीबार मात्रै चल्ने लगानी सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, राजनितिक दलका नेताहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री, विभागीय मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, डिएफआइडीका प्रतिनिधि, चिनियाँ प्रतिनिधिलगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको सहभागिता रहेको छ।

स्वदेशी तथा विदेशी लगानीलाई तिलोत्तमामा आकर्षित गर्ने उद्देश्यले गर्न लगानी सम्मेलनको आयोजना गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए। तिलोत्तमा नगर कृषि, उद्योग, व्यापार, पर्यटन लगायतको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो।

नगरपालिकाले कृषि, पर्यटन, उद्योग, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव तयार गरेको नगरप्रमुख घिमिरेले जानकारी दिए।
लगानी सम्मेलनमार्फत् ती परियोजनामा निजी क्षेत्रबाट ५० अर्बभन्दा बढी पुँजी भित्रिने आयोजकको अपेक्षा छ।

नगरपालिकाले पहिचान गरेका झण्डै एक सय परियोजनामध्येबाट प्राथमिकताका आधारमा २२ परियोजना प्रस्ताव गरिएको हो।

लगानीका लागि विशेषगरी कृषि, पर्यटन, उद्योग, व्यापार पूर्वाधार, स्वास्थ्य र शिक्षासम्बन्धी परियोजना प्रस्ताव गरिएका छन्।

लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेवास पर्यटकीयस्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेस हब, रेलवे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष्य राखिएको छ।

कुल क्षेत्रफलको ७२ दशमलव शून्य १ प्रतिशत कृषि र ११ दशमलव ३५ प्रतिशत वन तथा चरन क्षेत्र रहेको तिलोत्तमा कृषि उत्पादन र पशुपालनको हिसाबले पनि अत्यन्त सम्भावना बोकेको क्षेत्र मानिन्छ।

हाल वार्षिक करिब ४० लाख लिटर दूध उत्पादन हुँदै आएकोमा त्यसैलाई सदुपयोग गरी लगानी सम्मेलनबाट चकलेट, क्रिमसम्मको उत्पादन गर्ने लक्ष्य छ।

यो वर्षलाई आधार वर्ष मानेर लगानी सम्मेलनमा सम्झौता गर्ने उद्योगलाई ५ देखि १० वर्षसम्म निश्चित कर छुट दिइने छ।

नगरपालिकाले सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने तथा सहकारिता, सहकार्य र सहअस्तित्वको अभियानको रूपमा समेत लगानी सम्मेलनलाई लिएको छ।

साथै, बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेका कारण लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने योजनाअनुरूप ठूला–ठूला होटल खोल्नका लागि जग्गा भाडामा दिने योजनासमेत अघि सारिएको छ।

लगानी सम्मेलनमा विभिन्न विषयका अलग अलग समूहमार्फत् लगानीको प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ।

 

प्रतिक्रिया दिनुहोस