सरकारले रोक्यो सर्वेन्द्र खनालको अमेरिका भ्रमण

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, ०९ : ०६
सरकारले रोक्यो सर्वेन्द्र खनालको अमेरिका भ्रमण

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालसँग सरकार असन्तुष्ट बनेको छ । उनको कार्यसम्पादनसँग असन्तुष्ट बन्दै सरकारले खनालको अमेरिका भ्रमण समेत रोकेको छ ।
प्रहरी महानिरीक्षक बनेपछि कतिपय विषयमा सरकारसँगको समन्वयमा भन्दा पनि आफूखुसी निर्णय लिने र नेता जसैगरी थुनुवा वन्दीसम्मलाई भेट्दै हिँड्न थालेपछि खनाल विवादित बनेका थिए ।

उनको यस्तो कार्यशैलीपछि सरकारले उनीसँग पटक पटक मौखिक स्पष्टिकरण सोधे पनि उनले अब आफ्नो काममा सुधार ल्याउने जवाफ फर्काउँदै आएका थिए ।
तर पनि खनालको कार्यशैलीमा सुधार नआएपछि उनको विदेश भ्रमणसम्ममा सरकारले रोक लगाउन थालेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले खनालको भ्रमण रोकेको हो ।

उनी प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिनका लागि सिकागो जान खोजेका थिए ।
हरेक वर्ष २६ देखि २९ अक्टोवरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरुको सम्मेलन हुन्छ । सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरुको नियमति सहभागिता रहँदै आएको छ ।

तर सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको हो । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धि प्रस्ताव अस्वीकृत भएको हो । महानिरीक्षक विदेश भ्रमणमा जानुपरेमा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।
 
चिलीमा १६ अक्टोवरदेखि इन्टरपोलको सम्मेलनमा खनाल जाने सम्भावना कायमै छ ।
मंगलबारको मन्त्रिपरिषद्ले नेपाल प्रहरीका एआइजीहरुको सरुवा समेत गरेको छ । राष्टिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालय सरुवा गरिएको छ ।

उनलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्नेगरी मुख्यालय सरुवा गरिएको हो । त्यस्तै मुख्यालयका एआइजी ठूलो राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

हाल नेपाल प्रहरीमा तीन जना एआइजी छन् । अर्का एआइजी धिरु वस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस