दसैँमा कहाँकहाँ पाइन्छ नयाँ नोट साट्न ?

सोमबार, ०६ असोज २०७६, १६ : १२
दसैँमा कहाँकहाँ पाइन्छ नयाँ नोट साट्न ?

काठमाडौं । यस वर्ष सर्वसाधारणले असोज १० गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने जनाएको छ । 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका १ र १ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्ने जनाएको छ ।

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ । 

चाडपर्वलाई लक्षित गरी राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै आएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा रहेका नेपाल बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने छ । 

काठमाडौं उपत्यकाभित्र नै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार, सिंहदरबार परिसर, टेकु, नयाँ वानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ ।

कृषि विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा रहेका कृषि विकास बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।  

राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानबाट नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज,  पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस