पेरिसडाँडामा किन पुगे यी डेमोक्याट् कुटनीतिज्ञ ?

पूर्व प्रधानसेनापति देखि कुटनीतिक र सुरक्षा मामिलासम्मका विज्ञहरुको पेरिसडाडामा जमघट

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, ०९ : २०

काठमाडौं । सत्तारुढ दल नेकपाको कोटेश्वर पेरिसडाँडास्थित सम्र्पक कार्यालयमा बिहीबार आधा दर्जन डेमोक्र्याट् कुटनीतिज्ञ हुल बाँधेर पुगे । सरकारको नेतृत्व गरिरहेको नेकपा र नेकपाको सम्र्पक कार्यालयमा डेमोक्र्याट् कुटनीतिज्ञले झण्डै दिउँसो ३ बजे देखि बेलुकी साढे ६ बजेसम्म बिताए ।

डेमोक्र्याट् प्राध्यापक श्रीधर खत्री, पूर्वप्रधान सेनापति गौरव शमशेर राणा, द्वन्द्व विश्लेषक विष्णुराज उप्रेती, विश्लेषक गेजा शर्मा वाग्ले लगायत कुटनीति र सुरक्षा मामिलाका विज्ञहरु नेकपाको सम्पर्क कार्यालयमा पुगेका हुन् ।

नेकपाका वरिष्ठ नेता तथा विदेश मामिला विभागका प्रमुख माधव नेपालको निम्तोमा उनीहरु त्यहाँ पुगेका थिए । शुरुमै पेरिसडाँडा पुगेका नेता नेपालले केही बेर कुरेपछि डेमोक्र्याट् कुटनीतिज्ञहरु एक पछि अर्काे गदै त्यहाँ पुगेका थिए । त्यसपछि नेकपाका अन्य नेताहरु प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य भीम रावल, केन्द्रीय सदस्य तथा विदेश विभागका उप–प्रमुख विष्णु रिजाल लगायत नेकपाका नेताहरु पनि पेरिसडाँडा पुगेका थिए ।

सम्र्पक कार्यालयको तल्लो तलाको बन्द कोठामै उनीहरुले झण्डै साढे ३ घण्टा बिताए । आखिर किन निम्ताइए डेमोक्र्याट् कुटनीतिज्ञ ? शुरुमा सबैलाई जिज्ञासा रह्यो । निम्तो पाएर पेरिसडाँडा पुगेका कुटनीतिक विज्ञहरुले पनि शुरुमा आफुलाई किन निम्ताइए भन्नेमा अनौठो मानिरहेका थिए ।

पार्टी सम्र्पक कार्यालयमै रहेका कर्मचारीहरुसम्मलाई पनि यस बारेमा अनविज्ञता थियो । तर जव बैठकमा विदेश मामिला विभागका प्रमुख माधव नेपालले डेमोक्र्याट् कुटनीतिज्ञलाई स्वागत गर्दै विषय प्रवेश गराए । तब थाहा लाग्यो, नेकपाले चिनियाँ वेल्ट एण्ड रोड एनिसियटिभ (विआरआई) र अमेरिकाको इन्डो प्यासेफिक नीति (आइपीएस)का विषयमा छलफल गर्न निम्ताईएको रहेछ ।

‘इन्डो प्यासेफिक र विआरआईका विषयमा धेरै चर्चा भए, यस विषयमा नेताहरुका पनि आ–आफ्नै बुझाई भए, ठोस धारणा बनाउन कसैले सकिरहेको देखिएन, पार्टी र सरकारको ठोस धारणा तय गर्नका लागि यसको बुझाई र तपाईहरुको सुझावको लागि निम्तो गरिएको हो’ नेता नेपालले विषय प्रष्टाउँदै शुरुमै जानकारी गराए ।

त्यसपछि भने कुटनीतिज्ञहरुले क्रमशः यस विषयको वुझाईमा आ–आफ्नो धारणा राखेका थिए । शुरुमै श्रीधर खत्रीले धारणा राखेका थिए । उनले अमेरिकाले अगाडी सारेको इन्डो प्यासेफिकबाट नेपाल सहभागी भएर फाइदा उठाउनु पर्नेमा जोड दिएका थिए । पूर्व प्रधान सेतापति गौरव शमशेरले इन्डो प्यासेफिकको सुरक्षा रणनीतिका बारेमा बताए भने गेजाले दुवै योजनाको अनुभव, सरकारको नीति र सुझावका रुपमा धारणा राखेका थिए ।

उप्रेती र अर्का सहभागी टिका ढकालले पनि आ–आफ्नो बुझाई राखेका थिए । बैठकमा सहभागी नेकपा स्थायी समिति सदस्य आधा घण्टामै केही नबोली त्यहाँबाट निस्केका थिए भने सबैको धारणा सुनिसकेपछि प्रवक्ता श्रेष्ठ र नेपालले फेरि थप धारणा राखेर बैठक समापन गरिएको सहभागी एक नेताले बताए ।

नेताहरुको बोलीमै लगाम नभएको कुरा सहभागीहरुले उठाएपछि नेपाल र श्रेष्ठले अब पार्टी धारणा र सरकारको धारणा तय गर्नका लागि छलफल सकारात्मक भएकोले पून छलफललाई निम्ताइने भन्दै विदाई गरेका थिए ।

नेकपाले विआरआई र इन्डो प्यासेफिकका विषयमा पार्टीको ठोस धारणा तय गर्नका लागि यो छलफल गरेको अनुमान गरिएको छ । नेता नेपालले पार्टी र सरकारको धारणा बनाउनकै लागि छलफलका लागि निम्ताईएको बताएका कारण पनि सहभागीहरुले नेकपा यस विषयमा ठोस धारणा बनाउन लागिपरेको हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस