युवासंघले खुलायो कास्कीमा ज्ञानेन्द्र शाहीलाई निषेध गर्नुको कारण

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, १४ : १४
युवासंघले खुलायो कास्कीमा ज्ञानेन्द्र शाहीलाई निषेध गर्नुको कारण

काठमाडौँ । सत्तारुढ दल नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ । तर, नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । 

युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गरी नेपालका लागि नेपाली अभियानमा हिँडेका शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाउँदै प्रवेश निषेधको घोषणा गरेको हो । 

पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह ‘ज्ञानेन्द्र शाही’जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा‘दीपशिखा’ ले कुनैपनि राजनीतिक दलका गतिविधि र व्यक्तिको वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नीति राष्ट्रिय युवा संघको नरहेको बताएका छन् ।सापकोटाले स्थानीय कमिटीहरुलाई आफ्नो तहमा निर्णय गर्न स्वतन्त्र अधिकार रहेको पनि बताए । 

यसैबीच अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेका ज्ञानेन्द्र शाहीलाई रिहा गरेको छ । आइतबार साँझ पक्राउ परेका शाही अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रमाण नपुगेपछि सोमबार प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको ललितपुर प्रहरीले जनाएको हो । 
 

प्रतिक्रिया दिनुहोस