उपेन्द्र –बाबुरामको पार्टीले संविधान दिवसका दिन के गर्ला ?

‘न त खुसीयाली, न त कालो दिवस नै, हामी काठमाठौं लगायत मुख्य शहरमा संविधान संसोधन किन आवश्यक भन्ने बहस चलाउँने निर्णयमा पुगेका छौं’

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, ०७ : ४९
उपेन्द्र –बाबुरामको पार्टीले संविधान दिवसका दिन के गर्ला ?

काठमाडौं । ३ असोजमा संविधान दिवस । सरकारले सवै राजनीतिक शक्ति, नागरिक समाज र सर्वसाधारणलाई विशेष पर्वका रुपमा मनाउन निर्देशन गरेको छ । विदेशी पाहुनासम्मलाई यो पटक सरकारले संविधान दिवसको कार्यक्रममा निम्ताएको छ ।

तर नेपालभित्रका राजनीतिक दलहरुले भने यो दिवसलाई कुन रुपमा मनाउँछन् ? अझ खासगरी संविधानप्रति असन्तुष्टि राख्दै आएका दलले कुन रुपमा लिन्छन् ? अहिले चासोको विषय छ ।

संविधान नै नमान्ने घोषणा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत पार्टीले यसलाई चासै दिएको छैन ।

तर संविधान अनुसार नै निर्वाचनमा सहभागी भएको र सदन देखि सरकार सम्म रहेका  दलहरुको यस प्रतिको धारणा के होला ? अहिले चर्चाको विषय बनेको छ । खासगरी मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन के गर्लान् ? अहिले चासो यतातिर छ ।

राजपाले यो दिवसलाई कालो दिवसका रुपमा लिदै विरोध गर्ने घोषणा गरिसकेको छ । तर संविधानप्रति राजपाको जस्तै समान धारणा बनाउँदै आएको समाजवादी पार्टीले के गर्ला सवैको ध्यान भने यतातिर थियो ।

त्यसो हुनु स्वभाविक पनि थियो । समाजवादी पार्टी केन्द्रमै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा छ । सरकारले संविधान दिवसलाई पर्वकै रुपमा मनाउने बताएको छ । तर उसको नीतिमा संविधान अझै अपूर्ण छ । यस्तो वेला उसको पार्टी नीति अहिले सवैका लागि चासोको विषय वनेको हो ।

के गर्ला त ? समाजवादी पार्टी नेपालले यो दिवसका दिन ? उपेन्द्र यादव र डा बाबुराम भट्टराईको दुई पार्टी मिलेर अहिले समाजवादी पार्टी बनेको छ । ओली नेतृत्वको सरकारबाट पार्टी हट्नुपर्ने डा भट्टराईले तर्क गरिरहेका छन । तर उपेन्द्र स्वयं सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

सरकारमै सहभागी भएर यो पार्टीले दिपावली मनाउँला की राजपाले जस्तो विरोधमा उत्रेला ? यो विषयमा निर्णय लिन समाजवादी पार्टीलाई आइतबार दिनभर नेताहरुका वीचमा मन्थन गर्न परेको थियो ।

अन्ततः आइतबार अबेर पार्टी वैठक सक्दा समाजवादी पार्टीले दुवै धारबाट वीचमा रहेर मुख्य शहरहरुमा आफनो छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय लिएको छ ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहका अनुसार, ३ असोजमा काठमाडौं र सात ओटै प्रदेशका राजधानीमा पार्टीले अलग्गै कार्यक्रम आयोजना गर्ने निर्णय समाजवादीले गरेको हो ।

उसले संविधान घोषणाका वेला डा बाबुराम भट्टराईले दिएको अभिब्यक्ति जस्तै संविधान आधा गिलासमात्र भरिएको र पूरा गिलास भर्न बाँकी नै रहेको जस्तै गरी आएकोले यसमा संसोधनको वहस चलाउने निर्णय गरेको हो ।

डा बाबुराम भट्टराई नेतृत्वको पार्टी सरकारमा छ । संविधान संसोधनमा उसको पनि मत छ ।

‘संविधान च्यात्ने, कालो दिवस मनाउने पनि ठिक भएन, अपूरो भएकोले दिपावली मनाउन पनि ठिक भएन । यो एप्रोज डाक्टर सावको शुरुमा पनि थियो । त्यही एप्रोज एकीकृत पार्टीले लियो ।’ प्रचार विभाग प्रमुख सिंहले भने, –‘अव हामी न त खुसीयाली मनाउँछौं, न त कालो दिवस नै मनाउँछौं । काठमाडौंमा ठूलो कार्यक्रम गरेर र सात ओटै प्रदेशको राजधानीमा त्यहा पनि कार्यक्रम हरु गरेर संविधान संसोधनको किन आवश्यक छ भनेर त्यो कुराको बारेमा पार्टी धारणा राख्छौं ।’

प्रतिक्रिया दिनुहोस