गुल्मी । सोमबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा ६५ वर्षीय छल्लली बिक, २८ पम्फा बिक, १२ वर्षीय अञ्जली बिक, १० वर्षीय हेमन्त बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
१२ वर्षीया करिष्मा त्रामु र १४ वर्षकी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् । पानी परिरहेकाले उपचारमा लैजानका लागि समस्या परेको छ।
यसैबीच, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर वटा बगाएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिएका छन् । चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए ।
यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
घटनास्थलमा जिल्लाबाट ३ वटै सुरक्षा निकायका टोलि उद्धारको लागि घटना स्थल पठाइएको र अहिले पनि पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०७६, १० : ५४
लेखकबाट थप