त्रिवेणी गाउँपालिका बन्यो छुवाछुतमुक्त तथा समाजिक सद्भावयुक्त गाउँपालिका

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, १७ : ०२
त्रिवेणी गाउँपालिका बन्यो छुवाछुतमुक्त तथा समाजिक सद्भावयुक्त गाउँपालिका

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका जातीय छुवाछुतमुक्त तथा समाजिक सद्भावयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा कुनैपनि खालको जातिय छुवाछुत नरहेको भन्दै शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकालाई जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त गाउँपालिका घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रशाद रेग्मीले गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गर्नुभयो । गाउँपालिकाका सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जात जातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेका कारण गाउँपालिकालाई छुवाछुत मुक्त घोषणा गरिएको गाउँपालिकाको भनाई छ ।
गाउँपालिकामा बालिघरे प्रथा उन्मुलन हुँदै जानुका साथै परम्परागत जातीय सिपमा आधारित कामहरुमा सम्मानजनक व्यवहार बृद्धि र कानुनले सामाजिक अपराधका रुपमा लिएको जातीय भेदभावलाई गाउँपालिकावासीले बुझ्दै गएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताउनुभयो ।
जातिय छुवाछुत मुक्त घोषणा कार्यक्रममा घोषणपत्र प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष झक्कुप्रशाद घर्तीले यस सम्बन्धी बिभिन्न नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाँफिकोट गाउँपालिका जिल्लाको पहिलो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा भएको थियो । त्यस्तै जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा भैसकेका छन् । त्रिबेणि गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुने जिल्लाको चौथो स्थानीयतह बनेको छ ।

प्रतिक्रिया दिनुहोस