भरतपुर बाइपास सडकमा प्रत्येक महिना एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, २१ : ३०
भरतपुर बाइपास सडकमा प्रत्येक महिना एक जनाको मृत्यु

चितवन । भरतपुर बाइपास सडकको बसेनी चोकनजिकै आज साँझ दुर्घटना भएको छ । बुधबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने साइकल यात्री घाइते भएका छन् । 
मोटरसाइकलमा सवार इच्छाकामना गाउँपालिका वडा नं ५ घर भई भरतपुर ११ सामना चोकमा बस्दै आएका वर्ष ३७ का रेशमबहादुर गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले साइकलयात्री वर्ष ७२ का श्यामकुमार श्रेष्ठ घाइते भएका जनाएको छ । 
आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ गइरहेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सडकमा पछारिएका बा ४६ प ७८३० नं को मोटरसाइकल चालकलाई सोही दिशाबाट आइरहेको बा ४ ख ७६ नं ट्रकले किचेको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
पछिल्लो समय बाइपास सडकमा दिनहुँजसो साना–ठूला दुर्घटना भइरहेका छन् । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार भरतपुरको बाइपास सडकमा आर्थिक वर्ष २०७५÷७६ को साउनयता विभिन्न सवारीसाधनको दुर्घटनाबाट नौ जनाको मृत्यु भइसकेको छ । दुर्घटनाबाट २२ जना घाइते भएका छन् ।
ट्राफिक कार्यालयका अनुसार साउनमा एक, असोजमा दुई, कार्तिकमा एक, मंसिरमा एक, पुसमा एक, फागुनमा दुई, चैतमा एक जनाको दुर्घटनाबाट मृत्यु भएको छ । बाइपास सडकमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ ।
‘दुर्घटनाको प्रमुख कारण ‘ओभर स्पीड’ नै हो’ जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले भने, ‘काठमाडौँ, पोखरा जाने ठूला सवारीसाधन सो सडकमा गुड्ने, बस्ती बाक्लो भएको हुनाले पैदलयात्रुदेखि मोटरसाइकलहरुको चाप पनि बढी नै हुने भएकाले दुर्घटना बढिरहेको छ ।’ बाइपास सडक साँघुरो छ । कुनै ट्राफिक चिन्ह छैन । हाल निर्माणाधीन अवस्थामा रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस