भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास

दुई तलामा १६ कोठा निर्माण गरिने, लागत एक करोड ४६ लाख

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १२ : २७
भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास

चितवन । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको बुधबार एक समारोहबीच शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई तला निर्माण गरिने भवनको शिलान्यास गर्नु भएको हो । 

शिलन्यास कार्यक्रममा बाल्दै प्रमुख दाहालले बढ्दो सेवाग्राहीको चाप र कर्मचाहीहरुको कार्य व्यवस्थापनलाई प्रभावकारी बनाउन भवन निर्माण गर्न लागिएको बताउनु भयो । महानगरपालिकाका विभिन्न महाशाखाहरु बाहिर रहेको भन्दै उहाँले ती महाशाखालाई एकैठाउँमा ल्याई व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्नका लागि यो भवन बनाउन लागिएको जानकारी दिनुभयो । भवन ३ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको भन्दै उहाँले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय निर्माण गर्न आग्रह गर्नुभयो । गुणस्तर कायम गर्न विशेष पहल गर्न उहाँले महानगरपालिकाका प्राविधकहरुलाई निर्देशन दिनुभयो ।

प्रमुख दाहालले महानगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न भवनको आवश्यकता महसुस गरी त्यसको लागि समेत पहल भैरहेको बताउनु भयो । व्यवस्थित कार्यलयबाट प्रभावकारी सेवा प्रवाह गर्दै सुशासन कायम गर्न सकिने उहाँको भनाइ थियो ।

शिलान्यास कार्यक्रममा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरपालिकाका पवक्ता अरूण पीडित भण्डारी, वडा अध्यक्षहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्यप्रकाश लामाका अनुसार १ करोड ४६ लाखको लागतमा ३ महिनाभित्र उक्त भवन निर्माण हुनेछ । स्टिल स्ट्रक्चरमा स्याण्डवीच प्यानलको प्रयोग गरी दुई तलामा १६ कोठे भवन प्रशासनिक ब्लकका रुपमा निर्माण गर्न लागिएको हो ।
 

प्रतिक्रिया दिनुहोस