नेपाली काँग्रेस

सिटौलाको यु–टर्न देउवा क्याम्पतिर

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १६ : ५३
सिटौलाको यु–टर्न देउवा क्याम्पतिर

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई पदच्यूत गर्ने भन्दै पछिल्लो दिनमा आगो ओकल्दै हिँडेका नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अहिले सभापति देउवाको पक्षमा नतमस्तक भएका छन् । सरकार अधिनायकवादी भएको तथा सरकारले जनताको पक्षमा केही पनि गर्न नसकेको भन्दै सिटौलाले सभापतिलाई बलियो बनाउनु पर्ने र उनको नेतृत्वमा नै नेता तथा कार्यकर्ता परिचालित हुनु पर्ने बताएका छन् ।

सभापति विरुद्धको मोर्चामा कहिले रामचन्द्र पौडेलको फेरो समातेर त कहिले शेखर र शशांकहरुसँग मिलेर अगाडि बढ्ने बताउँदै आएका सिटौला पछिल्लो समय आफ्नै गुटको बिस्तार र सशक्तिकरणमा लागेका थिए । गत मंगलबारसम्म पनि सिटौलाले आफ्नो गुटको भेला बोलाएका थिए । तर बुधबार १८० डिग्रीमा परिवर्तन भएर सिटौलाले काभ्रे पुगेर सभापति नै हाम्रो नेता भएको भन्दै उनकै नेतृत्वमा सरकारविरुद्ध आन्दोलन गर्नु पर्ने बताए । उनले काँग्रेस जोगाउन आफू देउवासँग मिल्न तयार भएको बताए ।

पछिल्लो दिनमा काँग्रेसको साख सकिएको भन्दै शेखरहरु भाषण गर्दै हिँडेका छन् । पिँध नभएको लोटामा सिमित भएका रामचन्द्र पौडेलको शक्ति झन् कमजोर भएको छ । भएका सबै नेता तथा कार्यकर्ता अन्यत्र लागेपछि पौडेलको बचेखुचेको साथ समेत सकिएको हो । मसानघाटमा पुगिसकेको एजेण्डा बोकेर भए पनि राजनीतिमा  स्थापित हुन सकिन्छ कि भन्दै कमल थापाको कार्यसूचीमा सहमति बनाएका शशांक कोइरालाको समेत काँग्रेसमा हैसियत राम्रो छैन ।

प्रतिपक्षको धर्म निभाउन नसकेको काँग्रेसको राजनीतिक एजेण्डाबाट पछिल्लो दिनमा कोही पनि आकर्षित भएका छैनन् । तर पछिल्लो पटक दक्षिणको योजनामा कृष्ण सिटौला गुटलाई देउवा गुटसँग मिलाउने प्रपञ्च अगाडि सारिएको छ । त्यस्तो योजनाको पछाडि भारतका मान्छे भनेर चिनिएका अमेरशकुमार सिंह, शेखर कोइराला, नारायण खड्का, मिनेन्द्र रिजाल लगायतका काँग्रेसी नेताहरुको साथ र सहयोग रहेको बताइन्छ ।

नेपाली राजनीतिमा पछिल्लो समय चलखेल गर्न नपाएपनि २०६२÷६३ सालपछि राजनीतिलाई दूषित पार्ने केही पात्रमध्ये अमरेश सिंह पनि एक हुन् । राजनीतिक दाउपेचमा भए नभएका सबै कुरा गर्ने र शक्ति केन्द्रको मान्छे भएको भन्दै उनले फाइदा लिए । तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सिंहलाई खासै मन पराउँदैनथे । तर सिटौलाहरुको फेर समातेर सिंह एकाएक राजनीतिमा उदाए । तरल राजनीतिको फाइदा कसरी लिनु पर्छ भन्ने कुरा राम्ररी थाहा पाएका सिंहले काँग्रेसको नाममा हालसम्म पनि राम्रै फाइदाको हिसाब गरेकै छन् ।

सिंहदरबारमा अझै उनको रजगज चलेकै छ । प्रहरीको सुरक्षा पनि पाएकै छन् । काँग्रेसको केन्द्रीय सदस्य समेत नरहेका सिंहले राज्यका प्रमुख निकायमा पकड पनि राखेकै छन् । आफूलाई राजनीतिज्ञ भन्दै राम्रै प्रचार पनि पाएकै छन् । चुनाव पनि जितेकै छन् । अहिले सिटौलालाई देउवा क्याम्पतिर यु–टर्न गराउनमा पनि उनै अमरेश सिंहको भूमिका रहेको आँकलन गरिएको छ ।

नेपालमा दक्षिणको गठबन्धन लामो समयसम्म नगएको अवस्थामा देउवा र सिटौलाको गठबन्धन पनि लामो समयसम्म जाला भन्ने अनुमान गर्न तत्काल नै गाह्रो हुने विश्लेषण राजनीतिक बजारमा गरिएको छ । काँग्रेसभित्रको तमासाले सरकालाई समेत प्रभावकारी बन्न दिएको छैन ।

दुईतिहाईको सरकार भनिएको वर्तमान सरकार हरेक काम कारबाहीमा असफल बन्दै गएको छ । प्रमुख प्रतिपक्ष प्रभावकारी रुपमा सशक्त हुन्थ्यो भने पक्कै पनि सरकामाथि दबाव पर्न जान्थ्यो, तर प्रतिपक्ष कमजोर भएको फाइदा सरकारले समेत उठाएको छ ।

प्रतिक्रिया दिनुहोस