भरतपुर–९ लाई वातावरणमैत्री र पूर्ण सरसफाइ वडा बनाइँदै

सोमबार, २५ चैत्र २०७५, १६ : ५५
भरतपुर–९ लाई वातावरणमैत्री र पूर्ण सरसफाइ वडा बनाइँदै

चितवन । भरतपुर महानगरपालिका वडा नं ९ लाई वातावरणमैत्री र पूर्ण सरसफाइ वडा बनाइँदै छ । भरतपुर–९ नं वडा कार्यालयले युवा समाज नेपाल नारायणगढ बाह्रघरेको समन्वयमा वडालाई वातावरणमैत्री र पूर्ण सरसफाइ वडा बनाउन लागेको हो । 
‘वडालाई वातावरणमैत्री र पूर्ण सरसफाइ वडा निर्माणको लागि कामहरु भइरहेको छ’ वडा नं ९ का वडाध्यक्ष यमलाल कँडेलले बताउनुभयो, ‘यतिबेला वडामा रहेका टोलहरुमा सरसफाइका कार्यक्रमहरु भइरहेको छ ।’ युवा समाज नेपालका कार्यकारी निर्देशक खगराज ओझाले वडामा रहेका विभिन्न टोल विकास संस्थामा वातावरणमैत्री एवम् पूर्ण सरसफाइसम्बन्धी अन्तक्र्रिया कार्यक्रम भइरहेको बताउनुभयो । 
आज संगम टोल विकास संस्थामा वातावरणमैत्री एवम् पूर्ण सरसफाइसम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको उहाँले बताउनुभयो । उहाँले अन्तक्र्रियामा टोलवासीलाई सफा र वातावरणमैत्री टोल बनाउन गर्नुपर्ने कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा संगम टोल विकास संस्थाका अध्यक्ष देवराज कँडेलले टोलले सरसफाइको क्षेत्रमा कामहरु गरिहेको बताउनुभयो । उहाँका अनुसार संगम टोलमा १७९ घरधुरी रहेका छन् । कार्यक्रममा सरसफाइ समितिकी संयोजक शोभा पाण्डेले सरसफाइ र वातावरण वडा बनाउनको लागि महानगरबाट सहयोग हुनुपर्ने बताउनुभयो । फोहोर व्यवस्थापनका लागि कम्पोष्ट मल बनाउन चेम्बर उपलव्ध गराउनुपर्ने उहाँको भनाइ थियो । 
कार्यक्रममा टोल विकास संस्थाका सहसचिव रविन्द्र चापागाईं, कृष्ण चापागाईंलगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा गंगा ओझाले सहजीकरण गर्नुभएको थियो । 
युवा समाज नेपालले शिवशक्ति, बिहानी, परमानन्द सरस्वती, साझा, शरदकृष्ण, काँडाघारी, शिवमार्ग, नारायणी टोल विकास संस्थामा सरसफाइसम्बन्धी अन्तक्र्रिया गरिसकेको कार्यकारी निर्देशक ओझाले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस