गुणस्तर चिन्ह लिने बढ्दै

आइतबार, २४ चैत्र २०७५, १५ : ३०
गुणस्तर चिन्ह लिने बढ्दै

काठमाडौँ । आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ । 
गतवर्ष बाध्यकारी वस्तुमा बाहेक झण्डै दुई सयले चिन्ह लिएका छन् । यी उद्योगले ६० थरी उत्पादनमा चिन्ह लिएको विभागका निर्देशक दिपक ज्ञवलीले बताउनुभयो । उहाँका अनुसार बाध्यकारी ११ सामग्रीबाहेक अरु उत्पादनमा व्यवसायीले चाहेको अवस्थामा गुणस्तर चिन्ह लिन सक्छन् । कुनै पनि उद्योगले गुणस्तर चिन्हको माग गर्दै दिएको निवेदनका आधारमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षण पश्चात चिन्ह दिने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिन्ह दिनु पहिले र पछि पनि उद्योग तथा बजारबाट ती सामग्रीको गुणस्तर परीक्षण भइरहन्छ ।”

विगतका केही वर्षयता गुणस्तर चिन्ह लिने उद्योगमा खाद्यान्न उत्पादन गर्ने उद्योग बढिरहेका विभागले जनाएको छ । बजारमा प्रतिष्पर्धा बढिरहँदा आफ्ना उत्पादन गुणस्तरीय भएकाले गुणस्तर चिन्ह पाएको हो भन्ने देखाउन चाहने उद्योग क्रमिक रुपमा बढिरहेका निर्देशक ज्ञवालीले बताउनुभयो । 
चिन्ह लिनका लागि उद्योगमा नै परीक्षण गर्ने प्रविधि र दक्षजनशक्ति दुबै चाहिने उहाँले बताउनुभयो । गुणस्तर चिन्ह लिइसकेपछि पनि विभागले वर्षेनी बजारबाट र उद्योगमै पुगेर उत्पादनको गुणस्तर हेर्ने गरेको छ । उहाँले भन्नुभयो, “गुणस्तर चिन्ह लिएका उद्योगलाई पटक÷पटक छड्के जाँच गर्ने र गल्ती पाइएमा कारवाही हुने गरेको छ ।” विभागले देशभरमा नापतौल र गुणस्तर कार्यन्वयन गराउँदै आएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस