आधुनिक परिवेशका कारण बदलिँदो जीवनशैली, खानपान, दूषित वातावरण, तीव्र प्रतिस्पर्धा तथा यसबाट उब्जिने तनावले हाम्रो पाचनतन्त्रमा प्रतिकूल प्रभाव पारिरहेको छ । आयुर्वेदिक, होमियोप्याथिक तथा प्राकृतिक चिकित्सामा वर्णित जीवनशैली र खानपानसँग सम्बन्धित जानकारी विश्व स्वास्थ्य संगठनको परिभाषासँग मिल्दो–जुल्दो छ । तर, हाम्रो स्वास्थ्य हाम्रै पाचन प्रणालीमा भर पर्छ । भनाइ नै छ– ‘पेट ठीक त सबैकुरा ठीक । पेट खराब त शरीर अस्वस्थ ।’ यस्ता विभिन्न कारण छन्, जसले हाम्रो पाचनप्रणाली खराब भइरहेको छ ।
कारण
- जंकफुड वा फास्टफुड सेवन
आजकल आधुनिकताको नाउँमा भोजनको पोषकतत्व र गुणस्तरमा ध्यान केन्द्रित नगरीकनै पिज्जा, नुडल्स, बर्गर, चिप्सजस्ता डिब्बा बन्द गरिएको प्रशोधित खानालाई बढावा दिइँदै छ । यसलाई केटाकेटीदेखि वयस्कसम्मले मन पराइरहेका छन् । यस्ता खाद्यपदार्थले हाम्रो प्राचनप्रणालीमा हानि पु-याइरहेको छ ।
- अत्यधिक चिल्लो पदार्थ
बढी चिल्लोयुक्त भोजनले पेटलाई खराब गर्छ । यसैकारण, कलेजोमा बोसो जम्मा हुन जान्छ ।
- फलफूलको कमी
हाम्रो दैनिक खानपानमा हरियो सागपात, मौसमी फलफूल र दाल पर्याप्त मात्रामा समावेश नगर्नाले शरीरमा भिटामिन र प्रोटिनको कमी हुन जान्छ । यी पोषक तत्वको कमीले पाचन प्रक्रियामा नराम्रो असर पर्छ । जसको फलस्वरूप शरीरमा हानिकारक तŒवको वृद्धि हुन जान्छ ।
- समयमा भोजन नगर्नु
समयमा खाना नखानाले पाचनतन्त्रमा प्रतिकूल प्रभाव पर्छ । त्यस्तै, राति धेरैबेरसम्म टिभी हेर्नु र मोबाइल प्रयोग गर्नु पनि पाचनतन्त्रका लागि उपयुक्त हुँदैन ।
- नसा सेवनको कुप्रभाव
मदिरा, खैनी, चुरोट र गुटखा आदिको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । परिणामस्वरूप पाचन क्रिया खराब हुन जान्छ ।
- शारीरिक श्रमको अभाव
अधिकांश मानिस नियमित रूपमा शारीरिक व्यायाम गर्दैनन् । यसले गर्दा विभिन्न खाद्यपदार्थबाट जुन क्यालोरी ग्रहण हुन्छ, त्यो खर्च हुन सक्दैन । यही स्थितिले कालान्तरमा मोटोपनको समस्या देखा पर्छ । व्यायाम नगर्नाले कब्जियतको समस्या पनि आउँछ । अनि, पाचनप्रणालीले पनि काम गर्दैन ।
- तनावको खराब असर
प्रतिस्पर्धात्मक तनावले पेटमा एसिडिटी (मुखमा अमिलो पानी आउनु) जलन र ग्यासको समस्या उत्पन्न हुन सक्छ ।
परिणाम
अस्वस्थ्यकर जीवनशैलीको परिणामस्वरूप स्वास्थ्यसँग सम्बन्धित विभिन्न शारीरिक तथा मानसिक समस्या उत्पन्न भइरहेको छ । जस्तै, कब्जियत, अपच, भोक नलाग्नु वा कम लाग्नु खाना नपच्नु, एसिडिटी, अल्सर र छाति पोल्नु आदि ।
फ्याटीलिभर (कलेजोमा बोसो जम्नु)जस्ता कलेजोसँग सम्बन्धित कष्ट हुनु, पायल्स, झाडापखाला, आउँ, अनिद्रा, टाउको दुख्नु, स–साना कुरामा पनि रिस उठ्नु ।
रोगप्रतिरोधक क्षमताको कमीका कारण ब्याक्टेरियल र भाइरल संक्रमण हुनु ।
समाधान
मानसिक स्वास्थ्यमा ख्याल राख्ने
-पाचनप्रणालीलाई दुरुस्त राख्न शारीरिकसँगै मानसिक स्वास्थ्यको पनि महत्वपूर्ण छ ।
- मनोचिकित्सक तथा मनोवैज्ञानिकका अनुसार मानिसको विचार तथा उसको जीवनशैलीले स्वास्थ्यलाई प्रभावित पार्छ ।
- सकारात्मक सोचले मानिसको शारीरिकरमानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । मन र मस्तिष्कको आपसी द्वन्द्व समाप्त हुन्छ । फलस्वरूप रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ ।
खानपानमा विशेष ध्यान दिने
- जकंफुड नखाने । प्रशस्त मात्रामा हरियो सागसब्जी र फलफूल खाने । कुनै निश्चित समयमा खाना खाने गर्ने । सुत्ने पनि एक समय निर्धारण गर्ने । बोसोयुक्त खाना कम सेवन गर्ने । बोक्रासहितको दाल, अंकुरित चना÷भटमासको सेवन गर्ने । दही–मही पिउनु झनै लाभप्रद छ । खानासँगै सलाद पनि प्रचुर मात्रामा लिने । कम्तीमा पनि सात घन्टा निदाउने । बिहान वा बेलुकी आफ्नो अनुकूल समयमा घुम्ने गर्नुपर्छ । नियमित समयमा व्यायाम गर्ने । योगाभ्यास र प्राणायाम गर्ने ।
होमियोप्याथिक उपचार
- उल्लेखित समस्याका लागि नक्स बोमिका, सल्फर, पल्साटिला, ब्रायोनिया, नेट्रम म्युर, लाइको पोडियम, एलोज, मर्कसल, एलुमिना र कार्बोभेज जस्ता औषधि प्रयोग गर्न सकिन्छ । जसको प्रयोग आफ्नो नजिकैको काउन्सिलमा रजिस्टर्ड चिकित्सकसँग परामर्श लिई सेवन गर्नु लाभप्रद हुन्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस