चितवन । लगातार योनीबाट गन्हाउने पानी बगिरहने समस्या भएपछि महोत्तरी जिल्लाबाट भरतपुर क्यान्सर अस्पताल आइन् ४० वर्षकी रोशनी साह (नाम परिवर्तन) ।
रोशनीमात्र होइन, हेटौंडाबाट आएकी अर्की महिलामा पनि यही समस्या रहेछ । लगातार योनीबाट गन्हाउने पानी बगिरहेपछि उनी पनि पाठेघर जाँचको लागि क्यान्सर अस्पताल आइन् । भरतपुर क्यान्सर अस्पतालमा सँगै भेटिएका उनीहरु भन्छन्, ‘पाठेघर जाँच गर्न आएका हौँ, त्यसैले पालो पर्खेर बसिरहेका छौँ ।’
महिनाबारी सकिँदा पनि रगत बगिरहेपछि अर्की महिला पनि भरतपुर क्यान्सर अस्पताल आएकी रहेछिन् । सामान्य जाँच गरेर फर्केकी ती महिलाले भनिन्, ‘डाक्टरसाबले ढिला आउनुभयो भनेर भन्नुभयो ।’ उनले डाक्टरले भनेअनुसार सबै जाँच गराउने बताइन् ।
यस्ता लक्षण लिएर धेरै महिला अस्पताल आउने गरेको भरतपुर क्यान्सर अस्पतालका डाक्टरहरु बताउँछन् । लक्षण देखिनासाथ जचाँउन आउनेभन्दा स्थिति अलि बिग्रिसकेपछि अस्पताल आउने महिलाको संख्या धेरै भएको अस्पतालको भनाइ छ ।
योनी, स्तनजस्ता गोप्य अंगमा कुनै समस्या आयो भने लाजका कारण महिला परिवारलाई भन्दैनन् । आफ्ना श्रीमान्सँग समेत कुरा लुकाउँछन् । जसका कारण उनीहरूलाई भित्रभित्रै पाठेघरको मुखको, डिम्बासयको तथा स्तनको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । चिकित्सकका अनुसार एकदमै पीडा भएपछि वा परिवारका सदस्यले थाहा पाएपछि मात्र उपचारमा आउने गरेको देखिएको छ । जतिबेला क्यान्सर नै भइसकेको हुन्छ ।
चिकित्सकका अनुसार हामी बस्ने ठाँउलाई घर भनिएजस्तै पाठेघर पनि बच्चा बस्ने घर हो । यसलाई घर भनिनाको कारण चाहीँ बच्चा त्यहीँ उत्पादन हुने, त्यहीँ ९ महिनासम्म बसेर बाहिर निस्कने हुनाले पाठेघर भनिएको हो ।
चिकित्सकका अनुसार पाठेघर भन्नाले महिलाको शरीरको प्रजनन अंग हो । बच्चा उत्पत्तिदेखि ९ महिनासम्म बस्ने स्थानलाई पाठेघर भनिन्छ । पाठेघरमा, पाठेघरको मुखको क्यान्सर, पाठेघरको भित्रि भागको क्यान्सर, पाठेघरको डिम्बाशय, नलीको क्यान्सर गरी विभिन्न क्यान्सर हुने गर्छ । नेपालमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी फैलिएको देखिन्छ ।’
पाठेघर क्यान्सरका लक्षण
– योनीबाट रगत बग्नु
– यौन सम्पर्कपछि रगत देखिनु
– सेतो गन्हाउने पानी निरन्तर बग्नु
– महिनावारी हुन छोडेका महिलाको योनीमा रगत देखिनु
– महिनावारीका बेला सामान्यभन्दा लामो समयसम्म रगत बग्नु
– महिनावारीका बेला अत्यधिक रगत बग्नु
– यौन सम्पर्कका बेला दुख्नु
– तल्लो पेट अनावश्यक रूपमा दुखिरहनु
कारण
पाठेघरको मुखको क्यान्सर हुनुमा ९९ प्रतिशत कारक तत्व भाइरस हो । यो भाइरस यौन सम्पर्कको माध्यमद्वारा शरीरमा प्रवेश गर्छ । सबै भाइरसले क्यान्सर गर्छ भन्ने होइन । कुनै–कुनै भाइरसले मात्र क्यान्सर गराउँछ । पाठेघरको मुखको क्यान्सर गराउने भाइरस, ह्युमन प्यापिलोमाको प्रवेशपछि क्यान्सरको जोखिम अत्यधिक रूपले बढ्छ ।
यौन साथी धेरै हुनेमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । रोगसँग लड्ने क्षमता (रोग प्रतिरोधात्मक क्षमता) कम भएकालाई क्यान्सर हुने सम्भावना बढी हुन्छ । धेरै बालबच्चा जन्माएका र सानै उमेरमा गर्भवती भएका महिलाहरूमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । पाँच वर्षभन्दा धेरै समयसम्म परिवार नियोजनको साधन पिल्स चक्की खाने महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । धूमपान गर्ने महिलालालाई क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । कम उमेरमा यौन सम्पक गर्ने महिलाहरूमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
रोकथामका उपाय
पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा छ भने उपचार गर्न सकिन्छ । तर रोग लागिसकेपछि उपचारमा लाग्नुभन्दा रोग लाग्न नै नदिनु र रोकथाम गर्नु नै उत्तम हुने चिकित्सक बताउँछन् ।
भरतपुर क्यान्सर अस्पतालका चिकित्सकका अनुसार विकसित राष्ट्रहरूमा नियमित स्वास्थ्य परिक्षणको प्रचलन र अनिवार्य खोपका कारण पाठेघरको मुखको क्यान्सर निकै नियन्त्रणमा आइसकेको छ । तर नेपालजस्तो विकासोन्मुख देशमा नियमित स्वास्थ्य परिक्षण गराउने चलन नभएको र खोपको पनि अनिवार्यता नहुने हुँदा यसलाई नियन्त्रणमा ल्याउन गाह्रो भएको हो ।’
महिलामा पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यौन सम्पर्क हुनसक्ने उमेर सुरु हुनुअघि नै अर्थात् ९ देखि १३ वर्षसम्मको उमेरमा नै ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाइ क्यान्सरबाट बच्न सकिन्छ । बेलाबेलामा पाठेघरको जाँच गराउन चिकित्सककोमा जानुपर्छ । स्क्रिनिङ गरेर हेरिसकेपछि पाठेघरको अवस्थाका बारेमा जान्न सकिन्छ र केही समस्या आउनुअगावै त्यसको रोकथाम गर्न सकिन्छ ।
असुरक्षित यौन सम्पर्क नै महिलामा पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक हो । त्यसैले यौन सम्पर्क राख्दा सुरक्षित तरिकाले राख्नुपर्छ । धूमपानले कहिल्यै, कसैलाई फाइदा गर्दैन। कुनै पनि रोगबाट बच्न, धूमपानको बानी छ भने सबैभन्दा पहिला त्यो त्याग्नुपर्छ ।
एउटै लुगा लामो समयसम्म प्रयोग गर्दा पसिनाले फोहर हुने र त्यसमा किटाणु जम्मा हुने हुन्छ । तिनै किटाणु योनीबाट पाठेघरमा प्रवेश गरी रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भित्रि लुगाहरू दिनदिनै फेर्ने गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस