चितवन । चितवनका प्रदेश नं ३ सांसद विजय सुवेदीले आफ्नो मृत्युपछि मिर्गौला, कलेजो, मुटु, फोक्सो, सानोआन्द्रालगायतका अंगदान गर्नुभएको छ । आफ्नो ५६ औं जन्मोत्सवको अवसरमा सांसद सुवेदीले अंगदानको घोषणा गर्नुभएको हो ।
आज भरतपुर अस्पताल पुगेर सांसद सुवेदीले मेसु कृष्णप्रसाद पौडेललाई अंगदानको मन्जुरीनामा दिनुभएको थियो । सांसद सुवेदीले भरतपुर अस्पतालले उपलव्ध गराएको अंगदानको फाराम भरेर मिर्गौला, कलेजो, मुटु, फोक्सो, सानोआन्द्रालगायतका अंगदानको मन्जुरीनामा गर्नुभएको हो ।
सांसद सुवेदीले भन्नुभयो, ‘जुनसुकै बिरामी व्यक्तिले मेरो मृत्युपछि शरीरको जुनसुकै अंग प्रत्यारोपण गर्नको लागि ऐन २०५५ को दफा १ को खण्ड ख बमोजिम जानी बुझी स्वेच्छाले लान सक्नुहुनेछ भनी मन्जुरीनामा लेखिदिएको छु ।’
भरतपुर १२ मिलनमार्ग निवासी सुवेदीले मृत्युपछि जलेर जाने अंगहरु दान गरेर अरुको जीवनलाई सहज पार्न आफूले अंगदान गरेको बताउनुभयो । जन्मोत्सवको अवसरमा उहाँले भरतपुर अस्पतालमा पीपलको बिरुवासमेत रोप्नुभएको थियो ।
दस वर्षदेखि अंगप्रत्यारोपण
नेपालमा विगत दस वर्षदेखि अंगप्रत्यारोपण भइरहेको छ । जसमा आँखा, मिर्गौला, कलेजोलगायतका अंग प्रत्यारोपण भइरहेको छ । शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले मरणोपरान्त अंगदानको अभावमा अहिलेसम्म तीन वटा मात्र बे्रनडेथ मिर्गौला प्रत्यारोपण भएको जनाएको छ । तर केन्द्रमा ६० जना मिर्गौला पाउने पखाईमा तयारी अवस्थामा छन् भने ३५० जना मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी पर्खाइमा छन् ।
कमैलाई हेक्का
मृत्युपछि जलाएर या गाडेर पार्थिव शरीरको अन्त्येष्टि गरिन्छ । बाँचुन्जेल शरीरलाई सक्रिय राख्ने महत्वपूर्ण अंग पनि नष्ट हुन्छन् । तर कुनै अंग बिग्रिएर मरेतुल्य बन्न पुगेकाहरुलाई मृत्युपछि नष्ट गरिने व्यक्तिका अंगहरु उपयोगी बन्छ भन्ने कमैलाई हेक्का छ ।
आँखा, मृृगौला, कलेजो, छाला, बोनम्यारोको प्रत्यारोपण नेपालमै सम्भव छ । नेपालका केही चर्चित व्यक्तित्वहरुले मरणोपरान्त अंगदान गरिसकेका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, काँग्रेस नेता गगन थापा, राजपा संयोजक राजेन्द्र महतो, गायिका आनी छोइङ डोल्मा, गायक योगेश्वर अमात्यलगायतले समेत अंगदान गरेर सकारात्मक सञ्चार प्रवाह गराएका छन् ।
के हो अंगदान ?
कुनै व्यक्तिको स्वस्थ अंग र तन्तुलाई आवश्यक परेका कुनै व्यक्तिका लागि काम लाग्न सक्ने स्वीकृति दिनु अंगदान हो । अंगदानबाट कुनै व्यक्तिको जीवनलाई जोगाउन सकिन्छ । सामान्यतया एक व्यक्तिको अंगदानले बढीमा ५० जना आवश्यक व्यक्तिलाई सहयोग पुग्छ । अंगदान मृत्युपछि र कहिलेकाहीं जीवित अवस्थामै समेत हुन्छ ।
दुई प्रकारको अंगदान
जीवित दाताद्वारा अंगदान आफ्नै जीवनमा आफ्नो एउटा मिर्गौला, कलेजोको केही खण्ड, प्यांक्रियाजको केही खण्ड, फोक्सोको केही भाग, आन्द्राको केही खण्ड, छाला आदि दान गर्न सकिन्छ ।
मृतक दाताद्वारा अंगदान मस्तिष्क मृत्यु भएका दाताले मुटु, फोक्सो, प्यांक्रियाज, मिर्गौला, आन्द्रा, रक्तवाहिनी, तन्तु, कोर्निया, हाड, छाला, नसा, अस्थी बन्धन, मुटुको भल्भ, कार्टिलेज (नरम हाड) लगायतका मुख्य अंग र तन्तुहरू दान गर्न सक्छन् ।
के हो अंग र तन्तु ?
अंग शरीरको एउटा खण्ड हो जसले विशिष्ट काम गर्छ । फोक्सो, मुटु, मिर्गौला, कलेजो आदि अंग हुन् । तन्तु एउटा कोशिकाको समूह हो, जसले मानव शरीरमा एउटा विशेष काम गर्छ । हाड, आँखाको कोर्निया, मुटुको भल्भ, रगत नली, छाला, हाड आदि तन्तु हुन् ।
अंगदान ‘ब्रेन डेड’ व्यक्तिले गर्न सक्छन् । तन्तु दानचाहिँ प्राकृतिक रूपले मृत हरेक व्यक्तिले गर्न सक्छन् । सबैभन्दा सामान्य तन्तुदान ‘नेत्रदान’ अर्थात कोर्नियाको दान हो ।
मृत्युको कति समयसम्म अंगले काम गर्छ ?
मस्तिष्क मृत्यु भएका दाताको शरीरबाट जतिसक्दो चाँडो अंगलाई निकालेर समय खेर नफाली प्रत्यारोपण गर्नुपर्छ । अंग झिकेपछि जति छिटो प्रत्यारोपण हुन्छ, त्यति नै त्यो अंगले राम्ररी काम गर्ने सम्भावना बढी हुन्छ । यसैले हरेक अंगलाई प्रत्यारोपण गर्नका लागि समय निर्धारण गरिएको छ । कलेजो १०–१२ घण्टाभित्र, मिर्गौला २४ घण्टाभित्र, फोक्सो ४ देखि ६ घण्टाभित्र, मुटु ४ देखि ६ घण्टाभित्र र प्यांक्रियाज १० देखि १२ घण्टाभित्र अंगदान गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०७५, १४ : ४६
लेखकबाट थप