पिसाबमा पाइने विभिन्न विकार र खनिज पदार्थको सम्मिश्रणबाट बनेको ठोस पदार्थ मूत्र प्रणालीमा बन्ने पत्थरी (स्टोन) हो । प्रायः पिसाबमा भएको पानीको मात्राले नै उक्त विकार पदार्थलाई पखालेर शरीरबाट बाहिर फाल्ने गर्छ । यसर्थ, पिसाबमा पानीको मात्रा कम भएको वेला ती खनिज पदार्थ एक अर्कासँग टाँसिदा ढुंगा बन्ने प्रक्रिया सुरु हुन्छ ।
नेसनल किड्नी फाउन्डेसनका अनुसार प्रत्येक १० जनामध्ये एकमा मुत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ । महिलाभन्दा पुरुषमा दुईगुणा बढीले यो समस्या देखा पर्छ । पुरुषमा प्रायः ३० वर्षको उमेरपछि देखा पर्छ । यद्यपि, यो जुनसुकै उमेरमा पनि हुन सक्छ ।
लक्षण
प्रायः सानो पत्थरीले कुनै प्रकारको लक्षण नदिन सक्छ र त्यो पिसाब गर्दा यत्तिकै बगेर जाने गर्छ । मध्यम तथा ठूलो साइजका पत्थरीले सामान्यतया दुःख दिन्छ ।
पेट दुख्नु (कोखा दुख्नु, तल्लो पेट दुख्नु), पिसाबमा रगत जानु, वाकवाकी लाग्नु, वान्ता हुनु (दुखाइले), कामज्वरो आउनु आदि पत्थरीका प्रमुख लक्षण हुन् ।
कारण
पानी कम पिउनु (मुख्य कारण) ।
अग्जालेट भएका खानेकुराको अत्यधिक सेवन ।
मासु, भिटामिन ‘सी’, नुनिलोे खानेकुरा धेरै खानु ।
१ पानीलगायत तरल पदार्थ बढी मात्रामा सेवन
पिसाबमा पानीको मात्रा अत्यधिक भएको वेला पत्थरी बनाउने खनिज पदार्थ त्यसमा घोलिएर सजिलै पखालिन्छन् । सामान्यतया पिसाबको रंग हल्का पहेलो हुनुपर्छ । कडा पहेलो रंगको पिसाब आउनु भनेको आवश्यकताभन्दा कम पानी पिइएको बुझ्नुपर्छ । पत्थरी बन्न नदिनका लागि औसतमा २ दशमलव ५ लिटर पिसाब फेर्न जरुरी हुन्छ । तसर्थ, एक वयस्क व्यक्तिले दिनभरिमा कम्तीमा दिनहुँ तीन लिटर पानी पिउन आवश्यक छ ।
२ धेरै प्रोटिन भएका र नुनिला खानेकुराको सेवन घटाउने
एउटा वयस्क मानिसलाई दैनिक आहारमा बढीमा २३ सय मिली ग्राम नुन हुनुपर्छ । यो सालाखाला एक चम्चा बराबर हो । सेकुवा, प्याकिङ गरिएका खानेकुरा, आलु चिप्स, क्यान जुस, चाउचाउ र विभिन्न किसिमका अचारमा अत्यधिक मात्रामा नुन पाइन्छ । त्यसैले, यस्ता खानेकुरा सकभर कम खानुपर्छ ।
३ तौल सन्तुलित राख्ने
अत्यधिक मोटोपनले यतिकै पनि मिर्गौलालाई तनावमा राख्ने गर्छ । यद्यपि, आफ्नो तौल सुरक्षित तरिकाले घटाउनुपर्छ । दैनिक आहारलाई एक्कासि नियन्त्रण गर्न खोज्नु हुँदैन । एकाएक कार्बोहाइड्रेटयुक्त खानेकुराको अत्यधिक कम सेवन र प्रोटिनयुक्त पदार्थको बढी सेवन गर्नुले मिर्गौलामा पत्थरी बनाउने प्रक्रियालाई बढावा दिन्छ ।
४ अग्जालेटयुक्त खानेकुराको कम सेवन
सन् २०१४ मा अमेरिकामा गरिएको एक अनुसन्धानबाट मृर्गौलामा पाइने पत्थरीमध्ये क्याल्सियम अग्जालेट स्टोन सर्वाधिक मात्रामा (६७ प्रतिशत) पाइएको तथ्यांक छ । पालुंगो साग, सलगम, चकलेट, काजु, बदाम, चिया, आँटा, एेंसेलु, अंगुर, आलु आदिमा अत्यधिक अग्जालेट पाइन्छ । यद्यपि, एकपटक मिर्गाैलामा पत्थरी देखा परिसकेका व्यक्तिले मात्र उल्लेखित खानेकुरा खानुहुँदैन । तर, स्वस्थ मानिसका लागि यी खानेकुरा दैनिक पोषणका स्रोत हुन् ।
५ क्याल्सियमयुक्त खानेकुराको सेवन बढाउने
दूध र यसबाट बनेका परिकार, प्याकिङ गरिएका फलफूलका जुस, सोया सस, क्यान गरिएका माछा र केही गेडागुडी आदि क्याल्सियमयुक्त खानेकुरा हुन् ।
६ साइट्रिस एसिडयुक्त खानेकुरा अत्यधिक खाने
अमेरिकामा सन् २०१४ मा गरिएको एक सर्वेक्षणले ६० प्रतिशत मिर्गाैलाको पत्थरी भएका बिरामीको रगत र पिसाबमा साइट्रिक एसिडको मात्रा कम भएको देखाएको थियो । तसर्थ, कागतीपानी, सुन्तला, आँप, तरबुजाको रस आदिजस्ता साइट्रिक एसिड पर्याप्त मात्रामा पाइने खानेकुरा सेवन गर्न आवश्यक छ ।
७ चिकित्सकसँग सुझाब लिने
पटकपटक पत्थरी देखा परिरहेको बिरामीले आफ्नो दैनिक जीवनशैली, आहार, व्यायामका कुरामा आमूल परिवर्तन ल्याउन जरुरी छ । साथै, मुत्र रोग विशेषज्ञ सर्जन (युरोलोजिस्ट)सँग सल्लाह लिन आवश्यक छ । चिकित्सकको सल्लाहबमोजिम केही पोषकतत्व र भिटामिन लिन सकिन्छ । – नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस