–प्रेम लामा
पर्सा । ठोरी आँखा उपचार केन्द्रको नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ठोरी गाउँपालिका वडा नम्बर २ स्थित गौतमननगरमा नवनिर्मित दुई वटा छुट्टा छुट्टै दुई तले सुविधा सम्पन्न भवनको नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चीजकुमार मास्के, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ र डा. मार्टिन स्पेन्सरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चीजकुमार मास्केले सबैको सहयोगले ठोरीमा आँखा उपचार केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो । ठोरीबाट सबैखालका आँखाका रोगीहरुको उपचार गर्न सक्ने गरी थप पूर्वाधार विकास गरिने भन्दै उहाँले आगामी दिनमा पनि सबैबाट सहयोगको अपेक्षा राखेको बताउनुभयो । आँखा उपचार केन्द्र स्थापना भएपछि ठोरी आसपासका जनताले सहजै सेवा लिन पाएको उहाँले जानकारी दिनुभयो । दाताहरुसँग सहयोग मागेर ठोरीमा आँखा अस्पताल सञ्चालन गर्न सफल भएको भन्दै उहाँले ठोरीबासीले सहयोग गरेको प्रति धन्यवाद समेत दिनुभयो ।
उद्घाटन कार्यक्रममा सेवा क्यानाडा तथा सेवा फाउण्डेसन क्यानाडाका बोर्ड मेम्बर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. मार्टिन स्पेन्सरले ठोरी आँखा अस्पताललाई नेपाल कै आँखा अस्पतालहरुको केन्द्रको रुपमा विकास गरिने लक्ष्य रहेको बताउनुभयो । डा. मार्टिनले आँखा अस्पतालको सेवालाई विस्तार गर्नका लागि थप भौतिक पूर्वाधारहरु निर्माण गरिँदै लगिने बताउनुभयो । अहिल बनेका भौतिक पूर्वाधारहरु अपर्याप्त रहेको भन्दै डा. मार्टिनले भविष्यमा ठोरी आँखा अस्पताललाई नेत्र विशेषज्ञ उत्पादन गर्ने हवको रुपमा विकास गरिने बताउनुभयो । डा.मार्टिनले भन्नुभयो, ‘ठोरी आँखा अस्पताललाई अन्तर्र्रािष्ट्रय आँखा अस्पतालको तालिम केन्द्र बनाउने लक्ष्य छ । अन्तर्राष्ट्रिय आँखा अस्पतालको तालिम केन्द्र बनाउन ठोरी उपयुक्त स्थान छ । सेवा नामक संस्थाले छिट्टै नै अस्पताल बनाउन सहयोग जुटाउने छ ।’
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरी आँखा अस्पताल यस क्षेत्रकै लागि महत्वपूर्ण सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था रहेको भन्दै आगामी दिनमा थप सेवाहरु उपलब्ध गराउन सफल बन्नेमा विश्वास लिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले स्थानीय तहबाट अस्पतालको लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । ठोरीले विभिन्न क्षेत्रमा उल्लेख्य पहिचान बनाउने कार्य गरेको भन्दै श्रेष्ठले राज्यमा चर्चाको ठाउँको रुपमा रहेको यस अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष किशोर तामाङले ठोरी आँखा अस्पताल स्थापना भएयता यस क्षेत्रका आँखाका रोगीहरु लाभान्वित भएको भन्दै अस्पतालले थप सेवाहरु प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी छिमेकी मुलुक भारतका मुखियाहरुले ठोरी आँखा अस्पतालबाट भारतीय नागरिकहरु प्रत्यक्ष लाभान्वित भइरहेको भन्दै अस्पतालका लागि एउटा भवन बनाइदिने घोषणा गरेका थिए ।अस्पताल सञ्चालन आएपछि चार वर्षको अवधिमा २० हजार जना भन्दा बढी आँखाका रोगीहरुले सेवा लिएको अस्पतालका सूचना अधिकृत रमेश घिमिरेले बताउनुभयो । जसमध्ये २ हजार जनाभन्दा बढी मोतियाविन्दुका विरामीहरुले आँखाको शल्यक्रिया गराएको, झण्डै २ सय जना भन्दा बढीले माइनर सर्जरी तथा अन्यको आँखामा मासु पलाएको, परेला भित्र पसेको विरामीको उपचार गरिएको उहाँले जानकारी दिनुभयो । उपचार केन्द्रमा सेवा लिने मध्य ९५ प्रतिशत भारतीय नागरिक आउने गरेको समेत उहाँले बताउनुभयो । औपचारिक रुपमा नवनिर्मित भवनको उद्घान बिहीबार गरिए पनि उपचार केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन शुरुवात गरी सकेको उहाँको भनाई छ ।
अस्पताल परिसरमा आयोजित विशेष कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठ, वडा अध्यक्षहरु रामप्रकाश कुँवर, सूर्यबहादुर लामा, बोर्ड सदस्य वित्तमाया विक, दिपक सुनाम, काँग्रेसका जिल्ला सदस्य रामबहादुर श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मी, ओडार माविका प्रधानाध्यापक भूपाल जोशी लगायत छिमेकी मुलुक भारतका मुखियाहरुको समेत सहभागिता रहेको थियो । ठोरी आँखा उपचार केन्द्रलाई सफलता पूर्वक सञ्चालन गरेको भन्दै सञ्चालक समितिलाई सम्मान समेत गरिएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ऋषि पौडेलले राख्नु भएको थियो । २०७२ साल बैशाख १२ गते देखि चितवनको भरतपुरत आँखा अस्पतालले उपशाखाको रुपमा ठोरी गाउँपालिका २ गौतमनगरमा रहेको सरस्वती माविको भवन भाडामा लिएर सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस