प्रचण्डकी बुहारीभन्दा पहिला कञ्चनपुरको छोरी हुँ : बिना मगर

शनिबार, २५ कार्तिक २०७४, ०७ : ३३
प्रचण्डकी बुहारीभन्दा पहिला कञ्चनपुरको छोरी हुँ :  बिना मगर


नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा डडेल्धुराका प्रतिनिधिसभा सदस्य उम्मेदवार खगराज भट्टले आसन्न निर्वाचनमा नेपाली कांग्रेसको टाउको शेरबहादुर देउवा नै पराजित हुने भएकाले कांग्रेसका अस्थिपञ्जर बाँकी नै नरहने बताएका छन्।

नेकपा माओवादी केन्द्रकी लोकप्रिय नेतृ बिना मगर प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको बेलडाँडीस्थित चवन्नी बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले आसन्न चुनावमा देशलाई भिख मग्गा बनाउने, भ्रष्टाचार र कुशासन बढाउने पार्टी नेपाली कांग्रेस देशैभरि पराजित हुने बताए।

‘सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालय चुनावपछि बाँकी रहने छैन । त्यहाँ विपि संग्रहालय बन्नेछ,’ भट्टले भने, ‘देशैभरि कांग्रेस पार्टी र कांग्रेसका नेतालाई चुनावपछि कसैले खोज्ने छैनन् ।’

‘शेरबहादुर देउवाले चुनाव जित्न रक्सीमासु, साडी र मोवाइल वितरण गरिरहेका छन्, मतदातालाई प्रभावित गर्न खोजिरहेका छन्,’ भट्टले भने, ‘अब यो चुनावमा रक्सी, साडी र मोवाइल होइन, विचार विजयी हुनेछ ।’ विगतमा वामपन्थी पार्टीलाई टुट्ने फुट्ने शनिको साढेसाती अब कांग्रेसतिर ढल्किएको भट्टले बताए।

‘कञ्चनपुरको आइबीआरडीमा जन्मिएकी बिना मगर जतिबेला ९–१० वर्षकी हुनुहुन्थ्यो, त्यतिबेलादेखि माओवादी आन्दोलनमा हुनुहन्छ,’ भट्टले भने, ‘राज्यले माओवादीलाई लखेटिरहेको बेला बिना मगरको बुबाले माओवादी आन्दोलन र पार्टी कार्यकर्तालाई आइबीआरडीमा संरक्षण गर्नुभएको हो ।’

 

 

जनयुद्धताका माओवादी आन्दोलनमा आवद्ध नेता कार्यकर्ताले जनयुद्धताका मिठो खाना खान बिना मगरको बुबालाई सम्झिनुपर्ने बाध्यतालाई भट्टले स्मरण गरे । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बिना मगर बाल्यकालदेखि नै माओवादी आन्दोलनमा जोडिएर २७ महिना जेल जीवन बिताएको नेतृ भएको बताए।

‘बिना मगरको जन्मभूमि कञ्चनपुर नै हो, उहाँले कञ्चनपुरलाई नै कर्मभूमि बनाउनुभएको छ,’ नेता भट्टले भने, ‘उहाँलाई प्रचण्डको बुहारीका रुपमा मात्रै प्रचार गरेर माओवादी आन्दोलनमा उहाँले गर्नुभएको योगदानको अवमूल्यन गरिन्छ । उहाँ हाम्रो पार्टीको सर्वोच्च कमाण्डर प्रचण्डको बुहारी हुनुहुन्छ, त्यसमा पनि हामीले गर्व गर्नुपर्छ। कञ्चनपुरको हाम्रो छोरी बहिनी पार्टी कमाण्डको बुहारी हुनु हाम्रो गौरवको कुरा हो। उहाँले यो सम्बन्धबाट कञ्चनपुरको विकासमा सहयोग गर्नुहुन्छ ।’

माओवादी नेतृ तथा उम्मेदवार बिना मगरले आफू प्रचण्डको बुहारीभन्दा पहिला कञ्चनपुरको छोरीका रुपमा चिनिन चाहेको बताइन्। ‘मलाई कञ्चनपुरकी छोरीका रुपमा चिनिन मन छ,’ उनले भनिन्, ‘आगामी निर्वाचनमा कञ्चनपुरका आमाबुबा दाजुभाईले मतदान गरेर कञ्चनपुरकी छोरीलाई संसद र सिंहदरवारमा पु¥याउँदैछन् ।’

जुनसुकै नेता पनि पराजित भएर क्षेत्रमा नफर्किने परम्परालाई तोड्दै २०७० सालमा पराजित भएर पनि आफू निरन्तर कञ्चनपुरको विकासमा सक्रिय रहेको बताइन् । ‘पराजित भएर पनि थुप्रै विकास योजना र कार्यक्रम भएका छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि विकासमा आधिकारिक भूमिका खेल्न सजिलो हुन्छ।’ कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार जीवलाल चौधरी र नेकपा एमालेबाट कञ्चनपुरको १ ९ख० मा प्रदेशसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार कुलवीर चौधरीले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन आव्हान गरे ।

बेलडाँडी कांग्रेसमा पहिरो
नेपाली कांग्रेसका पूर्वजिल्ला सदस्य तथा बेलडाँडीमा सक्रिय कार्यकर्ता ईश्वरी भट्ट कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांंग्रेसले झुठा आश्वासन मात्रै दिएको र विकासको काम नगरेकाले सक्रिय नेता बिना मगरलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको भट्टले बताए ।

‘जितेका नेता पनि निर्वाचन क्षेत्रमा देखिँदैनन् । तर, बिना मगर चुनाव हारेर पनि निरन्तर हाम्रो बिचमा रहनुभयो, थुप्रै विकासका काम गर्नुभयो,’ उनले भने, ‘कुनै पदमा नभएर पनि उहाँले रौलेश्वर, कालिका, वैवाह क्षेत्रमा सडक ग्राभेलका योजना ल्याउनुभयो ।’

भट्टको नेतृत्वमा बेलडाँडीका पूर्वगाउँ समिति सचिव डम्मरबहादुर शाह, क्रियाशील सदस्य हेमराज भट्ट, यज्ञराज भट्ट, घनश्याम कठायत, निर शाहु, कमल शाह, लाभुराम चौधरी कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांग्रेसबाट अनिता राना, सोहत्तर राना, सोमा राना, रेखा राना, बिन्दु राना, गीता राना, रविता राना, फुलमति राना, चन्द्रवति राना, मगरी राना, मिठ्ठु राना, सोमति राना, इन्द्रवति राना, बिन्दु राना, बन्धो राना, सुहागा राना, गोदावरी राना, जेली राना, पुरन राना, भानी राना, तारा राना, सुनिल राना, भीमबहादुर सुनार बलबहादुर सुनार, सुर्जे सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस