ओम सञ्जिवनी कंक्रिटो कन्सर्नको शुभारम्भ

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १० : ३७
ओम सञ्जिवनी कंक्रिटो कन्सर्नको शुभारम्भ

भरतपुर : एसियन कंक्रिटो प्रा.लि.को एक्सपेरियन्स सेन्टर ओम सञ्जिवनी कंक्रिटो कन्सर्नले चितवनमा आफ्नो सेवा शुभारम्भ गरेको छ ।  भरतपुर हाइटमा रहेको ओम सञ्जिवनी कंक्रिटो कन्सर्नको शनिबार भरतपुर महानगरका मेयर रेनु दाहालले समुद्घाटन गरेकी हुन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले सुन्दर महानगरको परिकल्पनालाई सहयोग पुग्ने स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न चितवनमा सञ्चालनमा आएको एक्सपेरियन्स सेन्टरको सफलताको कामना गरीन् । नेपालमा सहजै पाइने कच्चा पदार्थको उपयोग गरी बनाइने सुन्दर उत्पादनको प्रयोग अबका दिनमा अझ बढी आवश्यक पर्ने उनले बताइन् ।“ हामी स्मार्ट महानगर निर्माणको प्रक्रियामा छौं , विकास निर्माणका ठूला योजनाहरु थुप्रै पुरा गर्नुछ ,”मेयर दाहालले भनिन्, “ यस कंक्रिटो कम्पनीका उत्पादन उपयोगि हुन सक्नेछन् ।” एशियन क्रंक्रिटोले  जर्मन प्रविधिमा आधारित रहेर कंक्रिटका इटा, हलो ब्लक, कंक्रिट ब्लक, कंक्रिट स्ल्याव टाइल्स , रंगिन इटा, रंगिन स्ल्याव जस्ता निर्माण सामाग्री उत्पादन गर्दछ । एशियन क्रंक्रिटोका उत्पादनहरु वातावरणमैत्री रहेको  कम्पनीको दावी छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले चितवन महोत्सवको मेड इन नेपाल पेभिलियनको प्रायोजन गरेको एशियन कंक्रिटोका उत्पादनहरुबारे धेरै उपभोक्ताहरु जानकार भइसकेको अवस्थामा चितवनमा नै एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनु निकै उत्साही खबर रहेको बताए । नेपालमा नै उत्पादित उत्पादनको प्रयोग गरी सम्बृद्धिको दिशातर्फ अघि बढ्न व्यवसायीहरुको सकारात्मक साथ रहने समेत उनले बताए ।

कार्यक्रममा एशियन कंक्रिटो नेपालका निर्देशक अनिल जटियाले महाभुकम्पपछि नेपालमा विकास निर्माणको  तिव्र आवश्यकतालाई ध्यानमा राख्दै निकै पहलपछि मात्र जर्मनीको कम्पनीलाई नेपालमा उत्पादनको लागि उपकरण उपलब्ध गराउन विश्वस्त पार्न सम्भव रहेको बताए । जर्मनीबाट डिजिटल प्रविधिमा प्राप्त निर्देशन अनुसार यहाँ कंक्रिटका सामाग्री उत्पादन हुने भएकाले गुणस्तरमा शतप्रतिशत विश्वासिलो रहेको  निर्देशक जटियाले दावी गरे ।  

माटोको प्रयोग नहुने भएकाले खेतीयोग्य जमिनको नोक्सान नहुने , वातावरण संरक्षण हुने कारण सरकारी निकाय र सर्वसाधारण यसको प्रयोग गर्न इच्छुक रहेको उनले बताए । चितवनमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याउनुको उद्धेश्यबारे प्रष्ट्याउँदै उनले भने  “चितवन हरेक  क्षेत्रको विकासको गतिमा अग्रस्थानमा छ, निर्माणक्रम बढी हुने  जिल्लामा हाम्रो उत्पादन प्रवद्र्धन गर्न जरुरी छ ।” भैरहवामा मुख्य कारखाना रहेको एशियन क्रंक्रिटोले  उत्पादन सुरु गरेको  करिव ८ महिना मात्र भएको छ । कम्पनीले व्यक्तिगत घर देखि मल, ठूला संस्थान, अस्पताल, पेट्रोल पम्म  र सरकारी भवन तथा सडक निर्माणलाई लक्षित गरी सामाग्री उत्पादन गरेको एशियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले बताए ।

६० एमएमका उत्पादनमा ५० टन भार क्षमता र ८० एमएमका उत्पादनमा ९० टनसम्मको भार क्षमता भएकाले एक पटक प्रयोग गरेपछि कम्तीमा २० वर्ष ढुक्क रहन सकिने  झाले बताए ।सुरुआतमा  उत्पादन मंहंगो लागेपनि समग्र खर्चमा ८ देखि १० प्रतिशत कम लगानी पर्न आउने उनले बताए । कार्यक्रममा ओम सञ्जिवनी कंक्रिटो कन्सर्नका प्रबन्ध निर्देशक निरन्जन न्यौपानेले चितवनमा भएका निर्माण कार्यलाई अत्यावश्यक सामाग्रीको सहज उपलब्धताका लागि पनि एशियन कंक्रिटोको शाखा आवश्यक महसुस गरेकै कारण चितवनमा आफुले यसको जिम्मा लिएको बताए । कम्पनीले एकै दिनमा ५०० टन उल्लेखित बस्तुहरु उत्पादन गर्ने क्षमता राख्दछ ।

जसकारण माग र आपूर्तीमा समस्या नहुने न्यौपानेको दावी छ ।विकास निर्माणका कामहरु छिटो भन्दा छिटो र तोकिएको समय भित्र सम्पन्न गर्न सहज हुने समेत उनले विश्वास व्यक्त गरे । एक्सपेरियन्स सेन्टरको समुद्घाटन समारोहमा जिल्लाका विशिष्ट व्यक्तित्वको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस