चक्रपथ सरसफाइ अभियान सय हप्तामा

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १६ : ५३
चक्रपथ सरसफाइ अभियान सय हप्तामा

अपिल घिमिरे

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले मुलुकको समृद्धिको साथमा जनताको सुस्वास्थ्य, सुख र स्वच्छ वातावरण सँगसँगै अगाडि बढ्नु पर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा चक्रपथ सरसफाइ महाअभियानको १०० औं हप्ताको विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शक्ति बस्नेतले नदी तथा सडकहरू प्रदुषित हुँदै जाँदा वातावरणीय असरहरु पनि बढ्दै जाने र प्रकृतिमा मानव तथा जीवहरुमा गम्भीर नकरात्मक समस्या पर्ने हुनाले सरसफाइ आजको आवश्यकता भएको बताउनुभयो ।

जुन देशका नागरिकले आफू त्यो देशको नागरिक हुनुमा गर्व गरे राष्ट्र निर्माणमा मेरो पनि भूमिका हुन्छ भन्ने सोचे त्यो मुलुकले प्रगति, विकास र समृद्धिको यात्रा तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘वातावरणीय सरसफाइमा त झन नागरिकको दायित्व बढी रहन्छ ।’

छिट्टै कलङ्कीदेखि नारायण गोपाल चोकसम्म सडक विस्तार गरिने र सडक विस्तार डिजाइनको इष्टिमेटसँगै हरियाली प्रवर्द्धनको कामहरु समावेश गरिएको उहाँले बताउनुभयो ।

उहाँले वाग्मती, रुद्रमती, चक्रपथ, विष्णुमतीलगायत मुलुकभर संचालनमा आएका सरसफाइ अभियानलाइ एकीकृत गरी प्रभावकारी ढंगले अघि बढ्ने र नेपाल स्वच्छ वातावरण महाअभियान निर्माण गर्ने अभियानका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसी, नेता शेरबहादुर तामाङ, पत्रकार ऋषि धमला, वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोर थापा, कान्छा सरसफाइ अभियान्ता केपी खनाललगायतले अभियानको सफलताको कामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस