अमेरिकातिर राष्ट्रपतिको उडान, ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकमा सहभागी हुने

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १० : ५७
अमेरिकातिर राष्ट्रपतिको उडान, ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकमा सहभागी हुने

काठमाडौं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्ल्यूको ६३ औं बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछिन् । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा लगायत रहेका छन् ।
राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, राष्ट्रपतिले नारी नेतृले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि मन्तव्य राख्ने तय भएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही उच्चस्तरीय भेटवार्तासमेत गर्ने बताइएको छ । 
परराष्ट्रका अनुसार, राष्ट्रसंघका महासचिव एण्टोनियो गुट्रेस र अध्यक्ष ग्रेसेससँगको भेटवार्ताको समय तय भइसकेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्सटी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग पनि द्विपक्षीय वार्ता गर्नेछिन् । सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारीले फागुन २९ गते संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने छिन् । फागुन ३० गते न्यूयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेर चैत १ गते अपरान्ह काठमाडौं आइपुग्ने कार्यक्रम छ । 
 

प्रतिक्रिया दिनुहोस