आठ वर्षपछिको निजी आयोजना सकियो, कुलेखानी तेस्रोको काम अझै बाँकी

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, ०९ : ३७
आठ वर्षपछिको निजी आयोजना सकियो, कुलेखानी तेस्रोको काम अझै बाँकी

मकवानपुर । सरकारी विद्युत् आयोजना कुलेखानी तेस्रोको काम अझै बाँकी छ । तर यो भन्दा आठ वर्षपछि निर्माण थालेको निजी क्षेत्रको माण्डु हाइड्रोको निर्माण कार्य सकिएको छ । 
मकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारस्थित १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणका केही काम अझै बाँकी रहेपनि भीमफेदीकै इपापन्चकन्यामा २२ मेगावाट विद्युत् क्षमताको माण्डु हाइड्रोको निर्माण सकिएको हो । शनिबारदेखि बाँधमा पानी जम्मा गर्न सुरु गरिएको बताउँदै एक साताभित्र परीक्षण उत्पादन सुरु हुने आयोजनाका इन्चार्ज मनोज सिंहले बताए ।
मण्डु हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाबाट ६६ केभी प्रशारण लाईन चार्जको लागि विद्युत् उत्पादनको काम हुने उनी बताउँछन् ।
दुई साताभित्र नियमित विद्युत् उत्पादन सुरु हुने जानकारी उनले दिए । यहाँबाट उत्पादित विद्युत् कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङबाट राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । आयोजनाको पावरहाउसबाट साढे १३ किलोमिटरको दूरीमा रहेको कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पु¥याउन ४४ वटा टावर निर्माण गरिएको छ । सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनी र माण्डु हाइड्रोपावर कम्पनीले २०७२ वैशाखबाट आयोजनाको निर्माण सुरु गरेकोमा करिब चार अर्बको लगानीमा चार वर्षभित्रै आयोजनाको निर्माण कार्य सकिएको हो । 
यता, २०६४ चैतदेखि सुरु गरिएको कुलेखानी तेस्रोको काम २०६८ सालमा सम्पन्न गर्ने गरी ठेकेदार पक्षसँग सम्झौता भएको थियो । विद्युतगृह निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी जेजियाङ जिल्लुन र सिभिलतर्फको काम पाएको कम्पनी सिनो हाइड्रोको ढिलासुस्तीको कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको आयोजना प्रमुख सुभाष मिश्रको भनाइ छ ।
छैटौं पटकसम्म म्याद थप हुँदा एक अर्ब ४७ करोड रुपैयाँमा सक्ने गरी सुरु गरिएको आयोजनाको लागत करिब चार अर्ब ६५ करोड पुगेको आयोजनाले जनाएको छ । अहिले कुलेखानी तेस्रोको निर्माण संरचनाका कामहरु अन्तिम चरणमा रहेको बताउँदै पूर्वाधार परीक्षणको कामपछि परीक्षण उत्पादन सुरु हुने आयोजना प्रमुख बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस