गुणस्तरीय सेवा दिन सचिव चौधरीको निर्देशन

शनिबार, २५ फागुन २०७५, २१ : २४
गुणस्तरीय सेवा दिन सचिव चौधरीको निर्देशन

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको निरीक्षणपश्चात आज निर्देशन दिनुहुँदै उहाँले गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो । 

भरतपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्ने भन्दै उहाँले यसका लागि सबै कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकार मातहतरही विशिष्ठ सेवासहितको विशेषज्ञ अस्पताल वनी सकेको भन्दै उहाँले यसका लागि आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र उपकरणका लागि आवश्यक पहल मन्त्रालयमा गर्न पनि आग्रह गर्नुभयो । मन्त्रालयले सो अस्पतालको विकासका लागि आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । बीमाका कारण शुरुआतको समयमा अस्पतालले समस्या भोगे पनि विस्तारै यो व्यवस्थित गर्दै लैजानेतर्फ अस्पताल लाग्नुपर्ने उहाँले बताउनुभयो । अस्पताललाई राम्रो व्यवस्थापन गर्न सकेमा आर्थिक अभाव नहुने सचिव चौधरीको भनाइ थियो । 

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण पौडेलले बजेटको अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भएको बताउनुभयो । उहाँले अस्पतालको सम्पूर्ण गतिविधिका बारेमा सचिव चौधरीलाई जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस