चितवन । स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले विपी कोइराला क्यान्सर अस्पताल भरतपुरलाई अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
अस्पतालको निरीक्षण गर्दै उहाँले क्यान्सरको उपचार मात्र नभइ अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रुपमा विकास गरी धेरै भन्दा धेरै दक्ष जनशक्ति उत्पादन तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
‘क्यान्सर रोगीको सङ्ख्या दिनप्रति दिन वृद्धि हुँदै गएको छ’ उहाँले भन्नुभयो,‘ त्यो अनुपातमा दक्ष जनशक्ति उत्पादन गर्न सकिएको छैन । अब अस्पताललाई स्रोत केन्द्रको रुपमा विकास गर्नुपर्छ ।’
सचिव डा चौधरीले विपी कोइराला क्यान्सर अस्पतालले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । क्यान्सरको रोकथाम र सहज उपचारको लागि सबै जिल्लाहरुमा ‘सरभाइकल’ क्यान्सरको स्कृनिङ सेवा सञ्चालन गर्न अस्पताललाई आग्रह गर्नुभयो । सरभाइकल क्यान्सर अन्तरगत पाठेघर,लिङग र मुखको क्यान्सर पर्दछ । सङ्घीय सरकारले काम गर्ने अस्पताललाई प्राथमिकतामा राख्दै सेवा सुविधा विस्तार गर्ने नीति लिएको उहाँको भनाइ थियो ।
डा चौधरीले अस्पतालको बारेमा बाहिरा मिडियामा आएजस्तै अवस्था आफूले नपाएको बताउनुभयो । अस्पतालको व्यवस्थापनमा उल्लेख्य सुधार पाएको भन्दै उहाँले क्यान्सर अस्पताल टिमको प्रशंसा गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले सेवाग्राहीले निजी अस्पतालको जस्तै सेवाको अपेक्षा राख्ने गरेकाले केही गुनासाहरु आएको बताउनुभयो । उहाँले अस्पतालले केही वर्ष यता सेवालाई प्रभावकारी बनाउदै लगेको भन्दै थप व्यवस्थापनमा लागेको बताउनुभयो । ‘केमो थेरापी र बेड भर्ना गर्न नसकेर फर्कनुपर्ने अवस्था छैन’ उहाँले भन्नुभयो,‘उपकरण बिग्रिएर थकिएको अवस्थामा छैन । अब सेवालाई अपग्रेड गर्नुपर्ने छ ।’
यसैबीच अस्पतालले क्यान्सर अस्पतालमा कार्यरत ११ औँ चिनियाँ मेडिकल टिमको बिदाइ तथा १२ औँ मेडिकल टिमको स्वागत गरेका छ ।
प्रतिक्रिया दिनुहोस