प्रधानमन्त्री ओलीले सिके राउतको प्रशंसा गर्दै भने– ‘उहाँसँग असाधारण क्षमता छ’

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, १७ : ३४
प्रधानमन्त्री ओलीले सिके राउतको प्रशंसा गर्दै भने– ‘उहाँसँग असाधारण क्षमता छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतमा असाधारण क्षमता रहेको बताउनुभएको छ । सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै उहाँले अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ । 
नेपाल सरकार र सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन गर्न र संविधान संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो । 
सरकारले सबै पक्ष र देशवासीका समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पु¥याउनसमेत उहाँले सबैमा आह्वान गर्नुभयो । 
गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गर्नुभयो । इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) राउत गलत बाटामा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर विचारक (थिङ्कर) समेत भएको पाइएको बताउनुभयो । सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो । 
प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन ? त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?’
अब मैले स्पेश पाएँ  : राउत 
नेपालको राजनीतिक इतिहासमा यस सहमतिको ऐतिहासिक स्थान रहेको डा राउतले बताउनुभयो । 
उहाँले केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र आफूहरु कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित रहेको बताउँदै आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको दिन साँच्चिकै ऐतिहासिक दिन हो भन्नुभयो । राउतले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियाँै, राज्यद्वारा दमन हुँदा पनि हामीले कहिल्यै प्रतिशोध लिएनौँ, बरु प्रहरीेलाई गुलाबको फूल दिएका थियौँ, परिस्थितिको संवेदनशीलतालाई बुझी वर्तमान सरकारले आज सहमति गराएको छ । हामीले पनि स्पेश पाएका छौँ ।” 

प्रतिक्रिया दिनुहोस