- डा. सचिन खड्का, फिजिसियन काठमाडौं मोडेल अस्पताल
काठमाडौंको पशुपतिनाथसँगै देशका विभिन्न शिव मन्दिरमा आज महाशिवरात्रि पर्व मनाइँदै छ । भगवान् शिवको प्रसाद भन्दै विशेषगरी अधिकांश युवा जमात गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्छन् । प्रशासनको रोकावटबीच पनि शिवरात्रिका दिन लुकीचोरी नसालु पदार्थ सेवन गर्ने परम्परा नै बनिसकेको छ । सामान्यतया डिप्रेसनबाट बच्न, तनाव कम गर्न र मनोरन्जनका लागि भन्दै गाँजालगायत नसालु पदार्थ खाने गरिन्छ । यस्ता पदार्थले दिमागमा तुरुन्तै प्रतिक्रिया जनाउने भएकाले केही समय मानिसमा तनाव हराउन सक्छ । तर, बिस्तारै स्वास्थ्यमा नराम्रा असर पर्छन् ।
मानसिक असर
- गाँजामा पाइने विभिन्न रसायनले बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । जसले गर्दा होस गुम्ने भएकाले आफूले गरेका काम थाहा नहुने, व्यवहारमा परिवर्तन आउने अर्थात् हाँसे हाँसेको हाँस्यैै र रोए रोएको रोयै हुने हुन्छ ।
- गाँजामा क्यानाविनोइड नामक रसायन हुन्छ । जसले तुरुन्त मस्तिष्कमा प्रतिक्रिया गराउँछ । जसले गर्दा अनावश्यक कुरामा पनि डराइरहने, ध्यान केन्द्रित नहुने, सोचविचारमा ह्रास आउने, चाँडो प्रतिक्रिया जनाउने, निर्णय गर्ने क्षमतामा प्रतिकूल असर पर्ने हुन्छ ।
- त्यस्तै, सुरु–सुरुमा छटपटाउने, डराउने, रुने, कराउनेजस्ता समस्या देखापर्ने गर्छन् । डिप्रेसनमा रहेका व्यक्तिले तनाव कम गर्न भन्दै यसको सेवन गर्छन् । केहीबेर कम भएजस्तो भए पनि पछि गएर डिप्रेसन झन् बढ्ने हुन्छ ।
शारीरिक असर
- नियमित गाँजा खानेलाई असर पुग्नु स्वाभाविकै हो । तर, चाडवाडका वेला निहुँ पारेर एक्कासि गाँजा खाने व्यक्तिमा यसले झन् धेरै असर पार्छ । यस्तो अवस्थामा मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने र कतिपयमा हृदयाघातसम्म हुने सम्भावना हुन्छ । त्यस्तै, मुटुको धड्कन बढेको महसुस हुने, निद्रा नपर्ने र सास फेर्न गाह्रो हुनेसमेत हुन्छ । साथै, आँखा रातो हुने, बान्ता हुने, रिंगटा लाग्ने पनि हुन सक्छ ।
- कहिलेकाहीँ सेवन गर्ने भनेर हुँदैन । एक–दुईपटक खाएपछि बिस्तारै यसको लत पर्ने सम्भावना प्रबल हुन्छ । उसलाई गाँजाले मात्र नपुगेर हेरोइन, चरेसजस्ता झन् कडा नसालु पदार्थ सेवनसम्मको बानी पर्न सक्छ । अन्ततः यसले दीर्घकालीन असर गर्छ । जिन्दगी नै बर्बाद हुन्छ ।
- गाँजा सेवनले फोक्सोमा समस्या आउने, दम हुने आदिजस्ता दीर्घरोग लाग्न सक्छन् ।
- दिमागी असन्तुलन हुनेजस्ता दीर्घरोग लाग्ने सम्भावना उच्च रहन्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस