हात धुनेसम्बन्धी भ्रम...

शुक्रबार, १७ फागुन २०७५, १५ : ०१
हात धुनेसम्बन्धी भ्रम...

काठमाडौं । कीटाणु जताततै हुन्छन् । तिनले विभिन्न रोग निम्त्याउँछन् । दिनभरि हामी अलग–अलग सामान छुन्छौँ । त्यसैले विभिन्न रोग फैलाउने कीटाणुबाट बच्न सही तरिकाले हात धुनु आवश्यक छ। हात धुनेसम्बन्धी केही भ्रम छन् । 

भ्रमः साबुनले हात धोइरहनुभएको छ भने कति बेर हात धोइयो भन्ने कुराले फरक पार्दैन ।
सत्यः यो सोच गलत हो । अध्ययनअनुसार कीटाणुबाट छुटकारा पाउन कम्तीमा १५ देखि ३० सेकेन्ड हातमा साबुन रगड्नुपर्छ ।

भ्रमः हात सफा गर्न साबुन र पानीको साटो ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ ।
सत्यः हातमा भएका कीटाणु हटाउन सबैभन्दा राम्रो उपाय साबनु–पानीले हात धुनु हो । ह्यान्ड स्यानिटाइजरले केही हदसम्म कीटाणु कम गरे पनि सम्णूर्ण कीटाणु हटाउन सक्दैन । त्यसका लागि साबुन–पानी असरदार हुन्छ ।

भ्रमः तातो पानीले हात सफा गर्नु प्रभावकारी हुन्छ ।
सत्यः यो सोच पनि सही होइन । विभिन्न अध्ययनबाट सिद्ध भएको छ– कीटाणु हटाउन तापमानको कुनै भूमिका हुँदैन । हात तातो पानीले धोइयोस् वा चिसोले, यसले फरक पर्दैन । तातो पानीले झन् छालालाई सुक्खा बनाउँछ । सुक्खा छालामा कीटाणु सजिलै टाँसिन्छन् । त्यसैले हात धुँदा ३० सेकेन्डसम्म सजिलै हात धुन सक्ने खाले पानी प्रयोग गर्नुपर्छ ।

भ्रमः हात धोइसकेपछि सुकाउनु पर्दैन ।
सत्यः विभिन्न अध्ययनबाट प्रमाणित भएको छ– भिजेका हातमा कीटाणु सजिलै प्रवेश गर्छन्। त्यसैले कीटाणुबाट छुटकारा पाउन हात धोएपछि पुछ्नु आवश्यक छ।

भ्रमः ह्यान्ड ड्रायर टावलभन्दा हाइजेनिक छ ।
सत्यः तौलियाले ब्याक्टेरिया हटाउन मद्दत गर्छ । ह्यान्ड ड्रायरले ब्याक्टेरियाको मात्रा झन् बढाउँछ। किनकि, ह्यान्ड ड्रायर बाथरुममा हुने भएकाले त्यसमा पनि ब्याक्टेरिया हुन्छन् । एक मिनेटसम्म हात ड्रायरनजिक राख्दा थप नयाँ कीटाणु हातमा प्रवेश गर्छन् ।

भ्रमः  हात फोहोर छैन भने पानीले धुँदा पनि पुग्छ ।
सत्यः पानीले मात्र हात धुँदा पनि धेरै कीटाणु हट्छन्, यो सत्य हो । तर, हात पूर्ण रूपमा कीटाणुमुक्त भने हुँदैन । त्यसका लागि साबुन प्रयोग गर्नुपर्छ ।-सम्पूर्ण साप्ताहिबाट

प्रतिक्रिया दिनुहोस