अनमोल केसीलाई ‘मेघा स्टार’ बनाउन मेरो हात छैन : हेमराज विसी

सफल खबर संवाददाता

सोमबार, १३ फागुन २०७५, १७ : १७
अनमोल केसीलाई ‘मेघा स्टार’ बनाउन मेरो हात छैन : हेमराज विसी

काठमाडौँ । नेपाली सिने क्षेत्रका ‘हटकेक’ हुन् नायक अनमोल केसी । तीन वटा फिल्ममा सँगै काम गरेका निर्देशक हेमराज विसी र नायक अनमोल केसी एकअर्काका लागि विशेष र खास छन् । किनकी, उनीहरु दुबैको डेब्यू फिल्म थियो ‘होस्टेल’ । यो फिल्मबाट अनमोललाई नयाँ ‘स्टार’ बनायो भने, हेमराजको नाम सफल निर्देशकको सुचीमा लेखियो । यसपछि ‘जेरी’ र ‘गाजलु’ मा पनि उनीहरुको टिमअप भयो ।
‘गाजलु’ पछि भने दुईको सहकार्य हुन सकेको छैन । हेमराजले भने आफ्ना हरेक प्रोजेक्ट सुरुमा उनलाई नै अफर गर्ने गरेको चर्चा हुने गर्छ । सुपरफ्लप फिल्म ‘ग्याङस्टर ब्लूज’ र फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’द ब्रेकअप’ हेमराजले सुरुमा अनमोललाई अफर गरेको बताइन्छ । तर, अनमोल भने आफ्नै डेब्यू निर्देशकको फिल्म लगातार ‘रिजेक्ट’ गरेको खबर बाहिरा आएका थिए ।
आफूले ‘सुपरस्टार’ बनाएको अभिनेताले आफ्नो फिल्म ‘ब्याक टू ब्याक’ रिजेक्ट गरेपछि हेमराजले इगो साध्न फागुन १७ मा अनमोलको ‘क्याप्टेन’ सँग आफ्नो फिल्म ‘द ब्रेकअप’ जुधाउन लागेको विश्लेषण कतिपयको छ । तर, उनले फिल्मको भिएफएक्सको काम नसकिएका कारण पुष २७ बाट प्रदर्शन मिति सारेको दाबी गर्दै आएका छन् । मंगलवार साँझमात्र फिल्मको फाइनल भिएफएक्स आफ्नो हात परेको उनले बताए ।
 
 
एक भेटमा पत्रकारसँग गफिँदै उनले भने, अनमोलसँग पहिला जस्तो सम्बन्ध थियो अहिले पनि त्यस्तै छ । कुनै दरार आएको छैन । अहिले हरेक हप्ता दुईभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् । फागुन १७ मा यसअघि ‘जात्रै जात्रा’ आउने पक्का त भइसकेकै थिएन र ? ‘जात्रै जात्रा’ आएन हामी आयौं । भिएफएक्स समयमै सकिएको भए फिल्म पुषमै रिलिज हुन्थ्यो फागुनमा सर्नु पर्दैन थियो ।’
फागुन १७ मा राम्रो विदा भएका कारण दुई फिल्म नेपाली बजारले धान्ने उनको तर्क छ । ‘फिल्म राम्रो छ भने चाडपर्वमा दुई फिल्म नेपाली बजारले धान्छ । मलाई विश्वास छ ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ दुबै सफल हुन्छ’, उनी सुनिए । ‘द ब्रेकअप’ लाई लक्षित गर्दै अनमोलले हालै एक अन्तर्वार्तामा ओभरफ्लो खान पनि फिल्म जुधाउने गरेको टिप्पणी गरेका थिए । यसको पनि हेमराजले जवाफ दिए ।

’क्याप्टेन’ को ओभरफ्लो खाएर ’द ब्रेकअप’ को लगानी सुरक्षित नहुने उनी बताउँछन् । केही आक्रोशित भावमा उनले भने, जति बजेट ‘द ब्रेकअप’ मा लागेको छ मलाई लाग्दैन कुनै फिल्मसँग रिलिज गरेर बजेट रिकभर हुन्छ । ‘फिल्ममा जति बजेट लागेको छ त्यो ‘क्याप्टेन’ सँग मात्र होइन अरु फिल्मको ओभरफ्लो खाएर पनि मेरो लगानी रिकभर हुन्न । फिल्मले लगानी रिकभर गर्न राम्रो विजनेश नै गर्नुपर्छ ।’
 अनमोललाई ‘स्टार’ बनाउनुको श्रेय हेमराजलाई दिने गरिन्छ । तर, यो मान्न तयार छैनन, उनी । ‘स्टार’ आफूले नभइ दर्शकले बनाएको उनको भनाइ छ । उनी भन्छन, अनमोललाई मैले ‘स्टार’ बनाएको होइन । ‘स्टार’ दर्शकले बनाएका हुन् । मैले त मेरो क्षमताले भ्याएसम्म राम्रो फिल्म पस्किने प्रयास मात्र गरेको हुँ । कसलाई ‘स्टार’ बनाउने वा नबनाउने त्यो सबै दर्शकको हातमा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस