काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ मुख्य नेताहरुले मन्त्री फेरबदलको अन्तिम गृहकार्य गरेका छन् । २ तिहाईको सरकार भएपछि जनतालाई कुनै फरक अनुभूति दिलाउन नसकेको अवस्थामा सत्तारुढ नेकपाका २ अध्यक्ष केपी ओली र प्रचण्ड भने मन्त्री र मन्त्रालय फेरबदलको गृहकार्यमा लागेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार बढीमा तीन जना नयाँ अनुहार ल्याउने तयारी भएको छ भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने देखिएको छ । नयाँ मन्त्रीमा जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एकको नाम भने अझै टुंगो लागिनसकेको स्रोतले बतायो । नयाँ तीन मन्त्री थपिने भएपछि वर्तमान तीन मन्त्री विदा हुने लगभग पक्कापक्की भएको छ ।
कुनै अबरोध नभए विदा हुनेको सूचिमा भौतिक योजनामन्त्री रघुविर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र कृषिमन्त्री चक्रपाणी खनालको नाम रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । तर अर्थमन्त्री खतिवडाले परिणाम निकाल्न केही समय मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय फेरिएको छ । खतिवडालाई एउटा मौका दिन सोचमा उनी पुगेका छन् । रिक्त रहेका मन्त्रालयमै नयाँ मन्त्रीको पदपुर्ति भने नगरिने बालुवाटार स्रोतले जनाएको छ । लगभग आधाभन्दा बढि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारी नेकपाका दुई अध्यक्षले गरेका छन् ।
मन्त्रीको हेरफेरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा पर्ने लगभग निश्चित छ । गृहमन्त्रीमा जनार्दन शर्मालाई ल्याउने दुई अध्यक्षबीच सहमति भइसकेको छ भने सुरेन्द्र पाण्डेका बिषयमा मन्त्रालय टुंगीसकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पाण्डेलाई अर्थमन्त्री नै बनाउन चाहेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली डा. खतिवडालाई नै अहिलेलाई जिम्मा दिने पक्षमा छन् । भौतिक मन्त्रालयको जिम्मा रामबहादुर थापालाई दिने तयारी गरिएको छ भने पर्यटनमन्त्रीको जिम्मा गोकुल बास्कोटालाई दिने तयारी गरिएको छ । भौतिक मन्त्रालयमा प्रदीप ज्ञवालीले पनि दावी गरिरहेका छन् ।
किन हुदैछ गृहमन्त्री परिवर्तन ? पूर्व माओवादी नेता बादलले ठ्याक्कै १ बर्ष अगाडी अर्थात् ०७४ फागुनमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । थापासँगै एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका थिए भने युवराज खतिवडा अर्थमन्त्री बनेका थिए । त्यस्तै अर्का माओवादी नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । यी चारै मन्त्रीमध्ये इश्वर पोख्रेल बाहेक अन्य ३ मन्त्रीको कार्यशैलीप्रति ओली-प्रचण्ड असन्तुष्टि पोख्दै आएका छन् । तर खतिवडाको बचाउमा प्रधानमन्त्री आफै लागे पनि थापा र यादवको सन्दर्भमा मन्त्रालय फेरबदल हुने निस्चित बनेको छ । खासगरी प्रदेश र प्रतिनिधि चुनावमा बहिष्कारको रणनीति लिएको विद्रोही नेकपामाथि व्यापक दमन र धरपकड गर्न बादल, ओली सरकारले चाहेजति सफल रहेनन् । त्यतिबेला ओली बादलसँग खासै खुसी थिएनन् भने प्रचण्ड पनि असन्तुष्ट नै थिए । त्यसपछि निर्मला बलात्कार र हत्या काण्डपछि कञ्चनपुरमा भड्कीएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थिति काबुमा राख्न नसकेको भन्दै ओलीले प्रचण्डसामू गुनासो नै राखेका थिए । निर्मला बलात्कार- हत्याकाण्डपछि सत्तारुढ नेकपाकै विद्यार्थी सङ्गठनले राजीनामा मागेको थियो । प्रधानमन्त्री ओली बादलको काम कारवाहीप्रति पहिलेदेखि नै असन्तुष्ट रहेको जनाइएको छ । पछि बादललाई हटाएर विशेषगरी चुनावमा हारेका तत्कालीन एमाले नेता वामदेव गौतमलाई गृहमन्त्री बनाउने गरी ओली-प्रचण्ड गृहकार्यमा जुटेकोका थिए । तर पार्टीभित्रबाटै व्यापक बिरोध भएपछि गौतम आफै व्यक भए । मन्त्रिपरिषद बिस्तार हुनुपूर्व तत्कालिन अवस्थामा अर्का नेता बर्षमान पुन पनि गृहमन्त्रीका प्रवल दावेदार थिए । पुनलाई नै गृहमन्त्री बनाउन पनि छलफल भएको थियो । प्रचण्डले पनि पुनलाई नै गृहको जिम्मा दिने मनसाय बनाएर त्यहि अनुसार पार्टीमा छलफल गरेका थिए । तर ओली भने बादल या प्रभाकरमध्ये १ हुनुपर्ने निष्कर्षमा थिए । ठिक त्यहि समय बादलले आफुले गृहमन्त्री पाए देशभर शशक्तरुपमा चुनाव खारेज अभियान चलाइरहेको नेकपालाई तह लगाउने आश्वासन ओली-प्रचण्डलाई दिएर मन्त्री पद लिएको पनि बताइन्छ । त्यतिबेला बादललाई गृहमन्त्री बनाएपछि पुनले अध्यक्ष प्रचण्डलाई फोन गरेर आफूलाई धोका भएको भन्दै सरकारमा नजाने धम्की समेत दिएका थिए ।
भदौसम्म आइपुग्दा गृहमन्त्री बादलसँग चरम असन्तुष्ट रहेका ओलीले पूर्वलडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर गत भदौमा बादलसंग २४ घण्टे स्पष्टीकरण सोधेका थिए । ठिक त्यहिबखत पूर्व एमालेजन पनि बादलको कार्यशैलीको आलोचना गर्न थाले । अहिलेको अवस्थामा भने एनसेलमाथि नेकपाले कारवाही गरेपछि सुरक्षा थ्रेड बढेको भन्दै ओली सरकार भित्रभित्रै आत्तिएको भए पनि बाहिर भने खासै फरक नपरेको देखाईरहेको छ । तर भित्रभित्रै बादलको ठाउँमा प्रभाकरलाई ल्याउने तयारीमा ओली-प्रचण्ड छन् । भदौमै पनि निर्मला हत्याकाण्डको बिषयमा बादलले दोषी पत्ता लगाउन र शान्तिसुरक्षा स्थापना गर्न असफल बनेको भन्दै ओली-प्रचण्डबीच यस विषयमा ३ घण्टा लामाे गम्भिर छलफल भएकाे नेकपा उच्च स्रोतले जानकारी दिएको थियो । केहि दिन यता विकशीत घटनाक्रमले सरकारको चाैतर्फी आलोचना सुरु भएपछि ओली-प्रचण्डले बालुवाटारमा अतिगोप्य छलफल गरेर मन्त्री फेरबदलको तयारी गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ फागुन २०७५, १३ : ०६
लेखकबाट थप