जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०८१, १६ : १४
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपिल गरेको छ ।

शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताएका हुन् ।

मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको टकराब र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ । विश्वकर्माले भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको बताए ।

सरकार बिचौलिया दलालहरूको स्वार्थ सिद्धिमा केन्द्रित रहेको उनको भनाई थियो । उनले अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता भएका महत्पूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत रहेको बताए ।

उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको टकराब र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ ।

नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थ सिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसद्मा दर्ता भएका महत्पूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत छ ।

सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखापरेको छ ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेको जिकिर गरे ।

उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।

देशको विषम परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद् भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी लगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनर्उत्थानवादी  षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।’ 

मोर्चाले चैत १५ गते (शुक्रबार) का दिन काठमाडौँमा विशाल विरोध प्रदर्शन सहितको जनसभा आयोजना गर्ने उनको भनाई छ । ‘यस सभामा सहभागी भई समाजवादी मोर्चा, नेपालमा सम्बद्ध राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ,’ उनले भने ।