बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नभएको दाबी गरेका छन् । रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै उनले अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने बताएका हुन् । यदि त्यसो गरेमा जनताले सराप दिने उनको भनाई थियो ।
आज रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पारे । उनले रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै अर्यालले उनको ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको जिकिर गरे ।
उनले भने, ‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिँड्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ ।’ उनले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एक ढिक्का राख्ने जिम्मेवारीमा आएको बताए ।
उनले रविले जनता समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठुला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप लगाए । उनले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताए ।
उनले युवाहरूलाई विदेश जान बाध्य पार्ने पनि यिनै दलहरू भएको आरोप लगाए । उनले विकास निर्माण सुस्त भएको तथा जनताको समस्याहरू समाधान गर्ने तर्फ दलहरू ध्यान नदिएको उल्लेख गर्दै जनतामा चरम निराश हुने काम सरकारले गरेको बताए ।
उनले बुटवल–नारायणगढ सडक २ वर्ष बन्नु पर्नेमा ८–१० वर्षसम्म ढिलाइ गर्दा त्यसले जनतालाई परेको असरको क्षतिपूर्ति कसले दिने प्रश्न गरे । उनले दलहरू आफैँमा खराब नभए पनि दलको नेतृत्व गर्नेहरूको गलत कामले गर्दा मुलुक अगाडी बढ्न नसकेको बताए ।
अर्यालले रास्वपाले अब जनताको एजेन्डालाई साथ लिएर केन्द्रदेखि वडासम्म काम गर्ने प्रतिबद्धता जनाए । रास्वपा आगामी निर्वाचनमा एउटा ठुलो शक्ति भएर आउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ चैत्र २०८१, १६ : २२
लेखकबाट थप