एनसेल विस्फोट प्रकरणमा विप्लव समूहको संलग्नता : गृहमन्त्री बादल

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १५ : ३१
एनसेल विस्फोट प्रकरणमा विप्लव समूहको संलग्नता : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ ले एनसेल विस्फोट प्रकरणमा  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको पाइएको बताएका छन् । 
आइतबार राज्य व्यवस्था समितिको बैठकमा उनले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोट र एनसेलको टावरहरुमा भएको बम हमला तथा आगजनीमा विप्लव समूहको संलग्नता देखिएको बताएका हुन् ।

विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’

उनका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १ बाहेक सबै प्रदेशमा आगजनीको घटना भएको र योविप्लव समूहको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको गृहमन्त्रीले बताए ।

नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।
 

प्रतिक्रिया दिनुहोस