पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्दा

एजेन्सी

आइतबार, १२ फागुन २०७५, १५ : २४
पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्दा

काठमाडौं । जापानका ओलम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागे ।

जापानमा पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्नु राम्रो मानिँदैन । सन् २०१८ को अक्टोबर महिनामा मन्त्री नियुक्त योशीताका कार्यक्रममा ढिलो पुग्ने र जथाभाबी बोल्ने गरेका कारण आलोचित छन् ।

जापानमा उनको योग्यताबारे आसाही सिम्बुन पत्रिकाले मत सर्वेक्षण पनि गरेको थियो । सर्वेक्षणमा उनको पक्षमा १३ र विपक्षमा ६५ प्रतिशत मत परेको नतिजा सार्वजनिक भएको थियो ।

दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका महिलाहरूलाई ‘व्यावसायिक वेश्या’को संज्ञा दिएपछि उनी निकै आलोचित भएका थिए ।

साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका उनले आफूले कहिल्यै कम्प्युटर नचलाउने र सधैं कर्मचारीको सहयोग लिने गरेको बताउँदा पनि आलोचना भएको थियो ।

पछिल्लो पटक ल्यूकेमिया रोगबाट पीडित जापानकी पौडी खेलाडी रिकाको इकीको विषयमा दिएको अभिव्यक्तिमा पनि उनको आलोचना भएको थियो । रिकाको इकीलाई ल्यूकेमिया रोग लागेको खुलासा भएपछि मन्त्री योशीताकाले भनेका थिए, ‘उनीप्रति हाम्रो ठूलो आशा थियो, म निराश भएको छु ।’

प्रतिक्रिया दिनुहोस