काठमाडौंमा राँगोले आक्रमण गर्दा एकजनाको मृत्यु, प्रहरीको गोली लागेर राँगाको पनि मृत्यु

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १० : ३४
काठमाडौंमा राँगोले आक्रमण गर्दा एकजनाको मृत्यु, प्रहरीको गोली लागेर राँगाको पनि मृत्यु

काठमाडौं । काठमाडौंमा राँगोले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी  शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।
मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत थानकोटका प्रमुख (डीएसपी) कुमार विक्रम थापाका अनुसार आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ । राँगोले मान्छेमाथि आक्रमण गरेपछि प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेका थिए । समात्न नसकेपछि प्रहरीले मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि राँगोमाथि गोली चलाएको डीएसपी थापाले बताए ।  
राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस