जुनीदेखि क्याप्टेनसम्म भुवन केसी : ‘मलाई दर्शकले धोका दिँदैनन्’

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १७ : १३
जुनीदेखि क्याप्टेनसम्म भुवन केसी : ‘मलाई दर्शकले धोका दिँदैनन्’

चितवन । सदाबहार नायक भुवन केसीको पहिलो चलचित्र हो जुनी । त्यसपछि कुसुमेरुमाल खेले । जुनीभन्दा हिट भयो कुसुमेरुमाल । त्यसपछि आए उनको चलचित्र सम्झना । अब भुवन केसीको बजारमा चर्चा हुन थाल्यो । त्यतिबेला ‘हाँसो’ हिरोको उपमासमेत पाए भुवनले । उनको हाँसोमा दर्शक लठ्ठ पर्थे । 
चलचित्र दक्षिणामा उनको हाँसोले बजार नै तताएको थियो । दक्षिणा नायिका निरुता सिंहको डेव्यु चलचित्र हो । नेपाली चलचित्र उद्योगमा ३ दशकको लामो यात्रा पार गरेर वाहवाही बटुलेका अभिनेता भुवन केसीले पछिल्लो समय आँफै फिल्म निर्माण गरेका छन् । फिल्मको नाम हो – ‘क्याप्टेन’ । उनी भन्छन्, ‘म नेपाली फिल्म क्षेत्रमा लागेको ३५ वर्ष भयो, मलाई मेरा दर्शकले धोका दिँदैनन् । हिजो करोडपति, नेपालीबाबुदेखि नै मेरा दर्शकले मलाई माया गरिरहेका छन् ।’ उनले आफ्नो चलचित्र क्याप्टेनले नयाँ स्वाद दिने दावी गरेका छन् ।
यसअघि सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘तृष्णा’, ‘चिनो’, ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमीविना मरिहाल्छु’लगायतका थुप्रै फिल्म हिट छन् उनका । अब आउने क्याप्टेन चलचित्रमा उनले निर्देशन गरेका छैनन् । यसअघि ड्रिम्सबाट निर्देशनको पाइला हालेका भुवन क्याप्टेनमा निर्देशकबाट व्याक भए, किन त ? उनी भन्छन्, ‘सबै काम आफैँले जिम्मा लिँदा गाह्रो हुँदोरहेछ । त्यसैले क्याप्टेनमा निर्देशकको जिम्मा नलिएको हो ।’
क्याप्टेनका लागि नायक अनमोल केसीले तीन महिना तालिम नै लिएको निर्माता भुवन केसी बताउँछन् । उनी भन्छन्, ‘खेलको विषयलाई लिएर नेपाली चलचित्र निकै कम बनेका छन्, यसको लागि खेलाडीले केके गर्नुपछ अनमोलले खेलाडी बन्नका लागि कस्तो संघर्ष गरेको हुन्छ, त्यही विषयवस्तुलाई यसमा समेटिएको छ ।’
सदाबहार नायक
आज भुवनको जुन क्रेज छ, त्योभन्दा बढी अनमोलको छ । तर, अनमोलको स्टारडम पछाडि भुवन ‘पावर व्याकअप’का रूपमा छन् । कतिले भन्छन्, भुवन अनमोलका निजी सहयोगी हुन् । कतिले भन्छन्, भुवन अनमोलका म्यानेजर हुन् । पिताभन्दा एक कदम अघि बढेर भुवनले अनमोलसँग हातेमालो गरेका छन् ।
कुनै जमाना भुवनको थियो । जसरी आज अनमोलको क्रेज छ, भुवनको क्रेज त्योभन्दा कम थिएन । सपना, कुसुमे रुमाल, सम्झना जस्ता एकसेएक ब्लकबस्टर फिल्म दिइरहँदा भुवन केसीले असंख्य प्रशंसक कमाइसकेका थिए ।
नेपाली फिल्मको उर्वर कालखण्ड थियो त्यो । तुलसी घिमिरे, शम्भु प्रधान, उगेन छोपेलजस्ता निर्देशक फिल्म बनाउँथे । उनीहरूको रोजाई हुन्थ्यो  नायक भुवन केसी । कहिले रोमान्टिक युवाको रूपमा त कहिले जिम्मेवार पतिको भूमिकामा भुवनले आफ्नो दर्बिलो उपस्थिति जनाइरहे । र, आज पनि उनको फिल्मी ह्याङओभरबाट दर्शकहरू मुक्त भइसकेका छैनन् । पर्दामा भुवन केसी खोज्नेहरूको जमात पनि कम छैन । उनी भन्छन्, ‘क्याप्टेनमा म र निरुता चटनीको रुपमा देखिएका छौँ, चटनी कसलाई पो मन पर्दैन ? 

प्रतिक्रिया दिनुहोस