यी हुन् फोक्सोमा क्यान्सर हुनुका कारण, लक्षण, रोकथाम र उपचार

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १३ : ४४
यी हुन् फोक्सोमा क्यान्सर हुनुका कारण, लक्षण, रोकथाम र उपचार

काठमाडौं । अव्यवस्थित जीवनशैली, खानपान र जीवनयापनका कारण नेपालमा क्यान्सर रोगी बढेका छन् । शरीरका विभिन्न भागमा क्यान्सर हुन सक्छ । यहाँचाहिँ थोरासिक  क्यान्सरबारे चर्चा गरिएको छ ।

करङहरूले घेरिएको हाम्रो शरीरको भागलाई थोराक्स भनिन्छ ।  यो भागमा हुने क्यान्सरलाई नै थोरासिक क्यान्सर भनिन्छ । थोरासिक क्यान्सरमा मुख्यतः फोक्सोको क्यान्सर, खाने नलीको क्यान्सर, थाइमस ग्रन्थीको क्यान्सर र सास नलीको क्यान्सर पर्दछन् । थोरासिक क्यान्सर हुने कारण मुख्यतः धुम्रपान नै हो । अत्यधिक चुरोटको सेवन गर्ने मानिसहरूमा थोरासिक क्यान्सरको जोखिम बढी हुन्छ ।
विश्वमा सबैभन्दा बढी मानिसहरुमा हुने क्यान्सर फोक्सोको क्यान्सर हो । फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुन्छ । र, नेपालमा पनि फोक्सोमा क्यान्सर भएका रोगीहरूको संख्यामा बढोत्तरी आइरहेको छ ।

 सर्वेक्षणअनुसार क्यान्सरबाट हुने कुल मृत्युमध्ये सबैभन्दा बढी मृत्यु फोक्सोको क्यान्सरले गर्दा नै हुन्छ । र हाम्रो देश पनि यसको अपवाद बन्न सकेको छैन ।

कारण
 फोक्सोमा क्यान्सर हुने कारण धेरै छन् । यद्यपि, धुम्रपान, प्रदूषित वायु, बाहिर जथाभाबी राखिएका खानेकुरा आदिको सेवनले क्यान्सर हुने गर्छ । 
 अध्ययनअनुसार धूम्रपान तथा सुर्तीजन्य चिजहरूमा हुने निकोटिन, सल्फर डाइअक्साइड, कार्बन, नाइट्रोजन अक्साइडजस्ता पदार्थका कारणले क्यान्सर हुन्छ । 
 विषादी प्रयोगबाट पनि क्यान्सर हुने गर्छ । वायुमा हुने क्यान्सरजन्य वस्तुको सम्पर्कबाट पनि यो रोग लाग्छ ।
 यसबाहेक, कतिपयमा वंशानुगत कारणले पनि क्यान्सर हुन्छ । 

लक्षण
 छाती दुख्नु फोक्सोको क्यान्सरको पहिलो लक्षण हो । 
संक्रमण भएमा छाती  दुख्ने गर्छ ।
 लामो समयदेखि निमोनिया र क्षयरोगको उपचार गराइरहेका बिरामीमा पनि फोक्सोको क्यान्सर हुने गर्छ । 
 नियमित चुरोट खाने व्यक्तिमा सुक्खा खोकी लाग्ने र खकारमा रगत देखापर्ने हुन्छ । 
 सास फेर्न गाह्रो हुने र सानो काम गर्दा पनि स्वाँ–स्वाँ हुन्छ  । साथै, दमको बिरामीमा फोक्सोको क्यान्सर हुने सम्भावना उच्च रहन्छ । 
 फोक्सोमा क्यान्सरको अर्को लक्षण तौल घट्नु हो । 
 फोक्सोको क्यान्सर कहिलेकाहीँ एक ठाउँबाट अर्को ठाउँमा सर्दै गएमा घाँटीमा गाँठागुँठी  देखिने पनि हुन सक्छ । 

रोकथाम र उपचार
 धूम्रपान, अस्वस्थ खानपान र प्रदूषणबाट जोगिन सकेमा फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ । 
 रोगको लक्षण देखिनेबित्तिकै तुरुन्त सम्बन्धित चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ । तर, नेपालमा ज्ञानको कमी र स्वास्थ्य सेवाको सहज पहुँचको अभावका कारण अधिकांश बिरामी क्यान्सरको अन्तिम स्टेजमा मात्र अस्पताल पुग्ने गरेको पाइन्छ । 
 क्यान्सरको स्टेजको आधारमा शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी आदिको माध्यमबाट उपचार गर्न सकिन्छ । रोगको स्टेज सिटीस्क्यान र मासुको जाँच गरेर पत्ता लगाइन्छ । 
 यसरी पहिलो र दोस्रो स्टेजको बिरामीलाई शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो स्टेजका बिरामीका लागि किमोथेरापी र रेडियोथेरापीको माध्यम अपनाउनुपर्छ । 

प्रतिक्रिया दिनुहोस