अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको के होला भविष्य ?

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १० : ३५
अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको के होला भविष्य ?

काठमाडौं । अष्ट्रेलिया जान भनेपछि अहिलका युवा पुस्ता जोकोही पनि हुरुक्कै हुन्छन् । प्लस टु सक्नसाथ उनीहरुको रोजाइ एक नं हुन्छ अष्ट्रेलिया । पछिल्लो समय नेपाली प्लस टु जेनेरेसनका लागि अष्ट्रेलिया सपनाको देश बन्दै गइरहेको छ ।  
पछिल्लो एउटा खबरले नेपालमा सनसनी मच्चायो, खबर थियो–अष्ट्रेलियामा सयौँ नेपालीहरु अलपत्र । लाखौं खर्चेर गएका अलपत्र परेका ती विद्यार्थीहरुको भविष्य अब के होला, अझै अन्यौल छ । 
अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियन अधिकारीहरुसँग परामर्श थालेको बताइए पनि ठोस निष्कर्ष आइ नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाली दूतावासबाट ठोस जानकारी नआएको बताउनुभयो । उहाँले थप जानकारी आएको खण्डमा उचित कदम चाल्ने बताउनुभयो । 
अष्ट्रेलियामा अलपत्र परेका नेपाली विद्यार्थीहरुले उनीहरुलाई पठाउने कन्सल्टेन्सीहरुले नेपालमा रहेका परिवारका सदस्यहरुलाई कन्सल्टेन्सीलाई दोष नदिन धम्क्याउने कामसमेत गरेको आरोप छ । ती कन्सल्टेन्सीहरुले विद्यार्थीका अभिभावकसँग प्रति विद्यार्थी २० लाख रुपैयाँसम्म रकम असुलेर विद्यार्थी पठाएका हुन् । अलपत्र परेका विद्यार्थीहरुले दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाएको आरोप लगाएका छन् । करिब अढाइ वर्षदेखि ती विद्यार्थीहरु दर्ता नै नभएको कलेजमा पढ्दै आएका थिए । 
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार शिक्षा मन्त्रालयले समिति नै गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको छ । उहाँले गलत कलेज थियो भने किन अष्ट्रेलियन दूतावासले भिजा दियो भनेर समेत प्रश्न गरेका थिए । 
अष्ट्रेलियामा अहिले विभिन्न विषयमा अध्ययनका लागि करिब ३५ हजार नेपाली रहेका छन् । अलपत्र परेका विद्यार्थी पढ्ने कलेजले अनुमतिका लागि सरकारी निकायमा आवेदन हालेको भएपनि अष्ट्रेलिया सरकारले अनुमति नदिएपछि विद्यार्थी अप्ठेरोमा परेका हुन् । अनुमतिका लागि आवेदन दिएकै भरमा कन्सल्टेन्सीहरुले विद्यार्थी पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस