समयमै निदाउन नसक्नेहरुले अपनाउनुस् यी ११ उपाय

विहीबार, ०९ फागुन २०७५, १७ : ४३
समयमै निदाउन नसक्नेहरुले अपनाउनुस् यी ११ उपाय

काठमाडौं । जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारिरीक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन् । बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहान पनि सुन्दर देखिन्छ ।

तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन । कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ । यदि यस्तो छ भने यी १० उपाय अपनाउनुस् जसले तपाईंलाई मस्तसँग निदाउन मद्दत गर्नेछन् ।  

१. घामको ताप ताप्नुहोस्  
अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ । हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस् । यसले साँझमा थकित अनुभव गराउँछ । जसले तपाईंलाई समयमै निद्रा पर्छ । साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ ।

२. व्यायाम गर्नुहोस्
बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ । समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ ।

३. साँझको समय कफी, क्याफिन सेवन नगर्ने
तपाईंलाई थाहा छ ? चिया, कफीले निद्रा भगाउने काम गर्छन् । एकपटक सय मि.ग्रा. क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ । यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा पुर्‍याउन सक्छ ।

४. खाना खानेबित्तिकै नसुत्नुहोस्
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसकारण खाना खाएको दुई/तीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस् ।

५.साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस्
राति छिटो सुत्ने बानी गर्नोस् । छिटो सुत्ने बानीले तपाईंलाई आनन्द त मिल्छ नै । साथै राम्रो निद्रा पनि पर्छ ।

६. ओछ्यानमा जानुअघि यसो गर्नुहोस्
नुहाउनुहोस्, दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस्। हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ । यस्तो अवस्थामा शरीर आफंैले सुत्ने समय भएको सन्देश दिन थाल्छ ।

७. ओछ्यान आनन्दयुक्त बनाउनुहोस्
निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ । जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस् । बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस् ।

८. ओछ्यान चिटिक्क पार्नुहोस्
सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस्। यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस् ।  कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस् । ढुक्क हुनुहोस्, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ ।

९. ठीक साइडमा मात्र सुत्ने गर्नुहोस्
सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन। मुटु, उच्च रक्तचापका रोगी छन् भने ठीक साइडमा सुत्नाले मुटुलाई दबाब पर्दैन। रक्त सञ्चारमा बाधा पर्दैन । र,  सजिलै निदाउन सकिन्छ ।

१०.सुत्ने समयमा नकारात्मक नसोच्नुहोस्
भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन । तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस् । जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस् । निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ ।

११. निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस्
डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड्नुहोस् । यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ । साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ । - नागरिक न्युजबाट

प्रतिक्रिया दिनुहोस