आफूलाई सीआईबी बताउँदै डाक्टरलाई धम्क्याउने छुटे धरौटीमा

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १३ : ४८
आफूलाई सीआईबी बताउँदै डाक्टरलाई धम्क्याउने छुटे धरौटीमा

चितवन । दुई साताअघि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्डमा आफ्नो कर्तव्य निर्वाह गर्ने सिलसिलामा डा. कृष्णसागर पौडेल बिरामीहरु जाँचिरहेका हुन्छन् । सामान्यतः डाक्टरको राउण्ड भइरहेको बेला बिरामीका आफन्तहरुलाई समेत पस्न अनुमति निषेध गरिने त्यस क्षेत्रमा अचानक दुई युवाहरु छापमार शैलीमा पस्छन् र आफूलाई सिआईबी अर्थात् प्रहरीको केन्द्रीय जाँचबुझ व्यूरोबाट आएको बताउँछन् ।

उनीहरु डा. पौडेलले आफ्नो कर्तव्य निर्वाह नगरेको, ओपिडीमा बिरामीलाई कुराएर राखेको, अस्पतालका डाइरेक्टरलाई असहयोग गरेको लगायतका आरोपहरु लगाउँदै कारवाहीको धम्की दिन थाल्छन् । तर डा. पौडेल उनीहरुको आरोपको जमेर प्रतिरोध गर्छन् । कतिसम्म भने डा. पौडेललाई साथ दिएर उनीसँगै रहेका नर्स तथा अस्पतालका कर्मचारीहरुलाई समेत आफूहरु सिआइबीबाट आएको र जाँचबुझ गरिरहेको भन्दै बाहिरै बस्न भनी थर्काउँछ । डा. पौडेललाई एक्लै कोठामा राखेर केरकारको शैलीमा थर्काउन तथा गलाउन खोज्छन् । अनि  केहीबेर त्यहाँ गलफत्ती चल्छ । तर कोठाबाहिर बिरामीका कुरुवा तथा अस्पतालका कर्मचारीहरुको भीड बढ्दै गएपछि ती युवाहरु त्यहाँबाट भाग्छन् ।

अस्पतालका बालरोग विभागका प्रमुख समेत रहेका डा. पौडेललाई त्यसरी धम्क्याएको कुराले त्यहाँ हल्लीखल्ली मच्चिन्छ । तत्कालै डा. पौडेलले फोनमार्फत् जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा फोन गर्छन् । सोही दिन अस्पतालमा घटना भएकै दिन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत अस्पतालको निरीक्षणका लागि पुग्ने कार्यक्रम हुन्छ । त्यहाँ उपस्थिति प्रमुख जिल्ला अधिकारीलाई पनि उनले घटनाको बारेमा मौखिक जानकारी गराउँछन् ।  सोही दिन धम्की दिनेहरुमध्येका एक जना पक्राउ पर्छन् । पक्राउ पर्नेको पहिचान रोहित धिताल भनेर हुन्छ । उनीसँगै आएका अर्का व्यक्ति विधान गुरुङ हुन् भनेर खुल्न आउँछ । विडम्बनाको कुरा, पहिचान भइसक्दा पनि अझैसम्म प्रहरी प्रशासनले ती दोस्रा व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । पक्राउ परेका धितालचाहिँ हाल तारिखमा छुटेका छन् ।

जिल्ला प्रशासन र प्रहरीमा लिखित उजुरी दिएपनि अहिलेसम्म अपराधीहरुमाथि कारवाही गर्ने तदारुकता स्थानीय प्रशासनले देखाइरहेको छैन । डा. पौडेललाई धम्काउने गुरुङ र उनको समुह अहिले पनि खुलेआम हिँडिरहेको छन् । अहिले भरतपुर महानगरपालिका ४ का वडाअध्यक्ष हरि आचार्य, होटल व्यवसायी संघको नेतृत्व लगायतले पक्राउ परेका धिताललाई तत्काल छुटाउन दबाब दिइरहेको बुझिएको छ । डा. पौडेल यसअघि अस्पतालको खरिद समिति, मूल्यांकन समिति तथा अन्य समितिका सदस्यको जिम्मेवारीमा समेत रहिसकेका व्यक्ति हुन् ।  त्यसबेला उनले क्यान्सर अस्पतालमा सामान खरिदमा हुने गरेको चलखेल तथा अन्य बेथितिहरुको जमेरै विरोध गरेका थिए । उनको यो क्रियाकलापकै कारण अस्पताल प्रशासनको एक तप्का उनीसँग असन्तुष्ट रहँदै आएको थियो ।

‘नेतृत्वमा रहँदा मैले भ्रष्टाचार, घुसखोरी र कमिशनको खेल रोक्नेतर्फ गरेको पहल तथा जनताका पक्षमा सकारात्मक काम गरेको देख्न नसकेकाहरुले मलाई गलाउने र थर्काउने उद्देश्यले त्यस्तो काम गराएको हुन सक्छ’ डा. पौडेलले भने । घटनालाई सामान्य रुपमा लिन नसकिने जनाउँदै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले गृहमन्त्रीलाई एक ज्ञापनपत्र पनि दिएको छ । ज्ञापनपत्रमा अस्पताल प्रशासनले देखाएको उदासिनताको विरोध गर्दै अपराधको तहसम्म पुग्ने गरी तत्कालै अनुसन्धान र छानविन गरी दोषीहरुमाथि कडा कारवाहीको माग गरिएको छ । यी दुई संगठनका विशेष जिल्ला कमिटी र ईकाई कमिटीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा दोषीलाई कारवाही गराउन आवश्यक पहल गर्न तथा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक लगायत कर्मचारकिो सुरक्षाको प्रत्याभूत गर्न अस्पताल प्रशासनसँग माग गर्दै तत्कालै सो हुन नसके आन्दोलनमा जान बाध्य हुने, त्यसका विरुद्ध हुने सबै किसिमका हर्कतहरुको कता प्रतिवाद गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुन सक्ने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको छ ।

यसैगरी, नेपाल चिकित्सक संघ, चितवन शाखाले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य तथा चितवन शाखाका सहसचिव डा. कृष्णसागर पौडेलमाथि भएको भौतिक आक्रमणको प्रयासको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस