‘भरतपुर अस्पताल अब केन्द्रीय स्तरको अस्पताल’

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, १७ : १२
‘भरतपुर अस्पताल अब केन्द्रीय स्तरको अस्पताल’

फाइल फोटो

चितवन । जिल्ला अस्पतालको हैसियतमा रहेको भरतपुर अस्पताल भरतपुर महानगरपालिकाको पहलमा अब केन्द्रीय स्तरको अस्पतालमा स्तरोन्नती भएको छ ।
मन्त्रीपरिषदको फागुन ३ गतेको निर्णय अनुसार अस्पताललाई सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ (टर्सरी) अस्पतालका रुपमा स्तरोन्नती गरिएकी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मंगलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतीबारे जानकारी गराउनु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
भरतपुर अस्पताललाई आजदेखि भरतपुर बिशिष्ट बिशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोही बमोजिम कार्यान्वयन र काम कारबाही अगाडि बढाउन पत्रमा उल्लेख गरिएको छ ।
मेसु पौडेलले अस्पतालको स्तरोन्नती भएकोमा खुसी व्यक्त गर्नुभयो । अब अस्पतालमा विभिन्न रोगका बिशेषज्ञ सहितका चिकित्सकहरु र सेवासुविधाहरु क्रमशः वृद्धि हुँदै जाने डा. पौडेलले बताउनुभयो ।
हाल अस्पतालले ६०० शैयाको सुविधा दिदै आईरहेको छ । जसमध्ये नेपाल सरकारबाट १ सय ५० र विकास समितिमार्फत ४ सय ५० शैया सञ्चालनमा छन् । केन्द्रीय अस्पताल भएसँगै नेपाल सरकारले ५ सय शैया उपलब्ध गराउने छ ।
अस्पतालमा कार्यरत ७७ जना चिकित्सक मध्ये ४१ जना सरकारी दरबन्दीका हुन् भने ३६ जनालाई अस्पताल विकास समितिले नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस