पूर्ववार्डेन कुँवरद्वारा लिखित पुस्तकमा आधारित फिल्म ‘खाग’ को ट्रेलर सार्वजनिक

मंगलबार, ०७ फागुन २०७५, १२ : ३१
पूर्ववार्डेन कुँवरद्वारा लिखित पुस्तकमा आधारित फिल्म ‘खाग’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र ‘खाग’ को ट्रेलर सार्वजनिक भएको छ । गैंडा संरक्षणका लागि भएका प्रयासको कथामा समेटिएको चलचित्रको ट्रेलरको राजधानीमा एक कार्यक्रमका बीच सोमबार सार्वजनिक गरिएको हो ।

निर्देशक मनोज पण्डितले निर्देशन गरेको यस चलचित्रमा गैंडाको संरक्षणमा देखिएको चुनौतीबारे देखाउन खोजिएको छ ।

चलचित्रमा प्रविण खतिवडाको मुख्य भूमिका छ । उनी फिल्ममा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ ।
 
फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए  । ‘यस फिल्ममा स्टार कलाकार छैनन, तर कन्टेन्टमाथि हाम्रो विश्वस्त छौं’, उनले भने ’सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छु ।’
ट्रेलर रिलिज कार्यक्रममा फिल्मसँग सहकार्य गरेको इ–सेवाले ’रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।
 
दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । ‘खाग’ को ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो । निर्देशक पण्डितले फिल्मले पुस्तकलाई न्याय गरेको दाबी गरे ।  
 
ट्रेलर हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस