सांसदहरुलाई गायक खरेलको सुझाव ‘कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस् ’

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, ०५ : ५५
सांसदहरुलाई गायक खरेलको सुझाव ‘कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस् ’

गायक प्रमोद खरेलले सांसदहरुलाई काम गर्न सुझाव दिँदै गीतमाथि राजनीति नगर्न अनुरोध गरेका छन् । गायक खरेलले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् ‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा एक महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध, त्यो पैसा आफ्नो क्षेत्र वा विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस्, ताकि फेरि फेरि यस्ता गीत बन्न नपरोस्, कर्म गर्नुस् गीतमाथि राजनीति नगर्नुस् ।’

सोमवारको बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंहले गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको हनन गरेको भन्दै गायक शर्मालाई सहयोग स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसलगत्तै सत्तारुढ सांसद झपट रावलले शर्माको गीत गाइदिए अमरेशलाई नै आफ्नो एक महिनाको तलब दिने भन्दै व्यंग्य गरेका थिए।

संसद सत्ता र प्रतिपक्षीबीच यसरी जुहारी चलेपछि गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ‪त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्न सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस। ‪कर्म गर्नुस, गीतमाथि राजनीति नगर्नुस।’

प्रतिक्रिया दिनुहोस