स्कुटर चलाउँदा यी कुरामा होस पुर्‍याऔँ

आइतबार, ०५ फागुन २०७५, १५ : १८
स्कुटर चलाउँदा यी कुरामा होस पुर्‍याऔँ

काठमाडौं । खासमा स्कुटर महिलालक्षित सवारीसाधन हो । तर, पछिल्लो समयमा यो सबैको प्रिय बनेको छ । घरमा एउटा स्कुटर छ भने त्यो महिला, पुरुष, किशोर, युवा, अधबैँसे वा ढल्किँदो उमेरका जसले पनि चलाएको पाइन्छ । बाइकको तुलनामा हलुका र गियर परिवर्तन गर्न झन्झटिलो पनि नहुने हुँदा स्कुटर चलाउन सजिलो हुन्छ । यद्यपि, चलाउन सावधानी नअपनाउँदा कतिपय अवस्थामा चिप्लिएर दुर्घटना पनि निम्तिने खतरा हुन्छ । त्यसैले, स्कुटर चलाउँदा निम्न सावधानी अपनाउन सकिन्छ ।

- स्कुटर चलाउनुअघि क्लच, ब्रेक र ह्यान्डलको राम्रोसँग चेकजाँच गर्नुपर्छ । साइड स्ट्यान्ड माथि उठाउन भुल्नुहुँदैन ।
- हेल्मेट अनिवार्य लगाउनुपर्छ । यसले दुर्घटनाबाट जोगिनुका साथै धुलो, धुँवा र पानीबाट समेत बच्न सकिन्छ ।
- राति हेडलाइट अनिवार्य बाल्नुपर्छ । दायाँ–बायाँ मोड्दा साइड लाइटको प्रयोग गर्नुपर्छ ।
- ट्राफिक नियमको पालना गर्नुपर्छ । ट्राफिक चिह्न, प्रवेश निषेध वा वान वे क्षेत्रमा जानुहुँदैन ।
- बाटो क्रस गर्दा पैदल यात्रुलाई प्राथमिकता दिनुपर्छ । हतारभन्दा पनि सुरक्षित यात्रामा जोड दिनुपर्छ ।
- वर्षाका कारण सडक चिप्लो हुन्छ । स्कुटरका चक्का छोटा हुने हुँदा यस्तो अवस्था आए होसले हिँड्नुपर्छ । नत्र चिप्लिएर लड्ने जोखिम हुन्छ । त्यसैले, हतार भए पनि समान गति कायम गर्न सकियो भने छिटो गन्तव्यमा पुग्न सकिन्छ ।
- स्कुटर बाइकजस्तो घ्याच्च रोक्नुहुँदैन । स्कुटरमा गियर नहुने हुँदा स्पिडदौरान घ्याच्च रोक्दा यो लड्न सक्छ ।
- आवश्यकताअनुसार अनिवार्य इन्डिकेटरको प्रयोग गर्नुपर्छ । स्कुटर चलाइरहँदा मोबाइल फोन प्रयोग गर्नुहुँदैन । गरेमा दुर्घटना निम्तिने खतरा हुन्छ । – नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस