नेपाली इन्जिनियरले गरे आर्क ब्रिजको डिजाइन, मुग्लिङमा बन्दै गरेको आर्क ब्रिज आगामी फागुनदेखि सञ्चालनमा आउने

सफल खबर संवाददाता

शनिबार, ०४ फागुन २०७५, १८ : ४४
नेपाली इन्जिनियरले गरे आर्क ब्रिजको डिजाइन, मुग्लिङमा बन्दै गरेको आर्क ब्रिज आगामी फागुनदेखि सञ्चालनमा आउने

मुग्लिङ । नेपाली इन्जिनियरको डिजाइनमा बनिरहेको मुग्लिङको आर्क ब्रिज आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । पुलको ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङको त्रिशुली नदीमा बनिरहेको चितवनको मुग्लिन र तनहुँ जोड्ने उक्त आर्क ब्रिज १ सय ६० मिटर लामो हुनेछ । यसको मुख्य भाग भने १२० मिटर लामो हुनेछ ।
ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आगामी असारभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । 

हाल अस्तित्वमा रहेको सिंगल लेनको पुल जीर्ण बन्दै गएपछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभागअन्तर्गतको पुल महाशाखाले नयाँ प्रविधिले पुल निर्माण थालेको हो । ११ करोड लागतमा निर्माण थालिएको यो चिनियाँ प्रविधिको पुल हो । 

पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिनेछ । यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बन्ने विभागका योजना प्रमुख रामहरि पोख्रेलले बताए । पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन् । यसअघि यस्ता पुलको निर्माण विदेशी प्राविधिकले गर्ने गरेका थिए ।

हाल सञ्चालनमा रहेको पुलले एकपटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ । तर, यस पुलमा भने निर्बाध रूपमा दोहोरो यातायात सञ्चालन गर्न सकिने पोख्रेलले बताए ।

हालसम्मकै ठूलो र जटिल प्रविधिको भएका कारण पुल निर्माणमा केही ढिलो भइरहेको छ । निर्माणको जिम्मा पाएको चितवनको लोहनी एडभेन्चर जेभीले असोजमा पुल सक्नुपर्ने भए पनि समयमा सामान आयात गर्न नसकिएको जनाउँदै म्याद थपका लागि अनुमति मागेको छ । म्याद थप गरिएमा आगामी नेपाली नयाँ वर्षसम्ममा पुल सञ्चालनमा ल्याउन सकिने पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस