‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’

विहीबार, ०२ फागुन २०७५, २२ : ०५
‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’

चिप्लेढुङ्गा । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताउनुभएको छ ।

पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा आज यहाँ आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईले उद्यमशीलताविना कुनै पनि देशको विकास हुन नसक्ने बताउनुभयो । नेपाल जस्तो लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिरहेको मुलुकमा अहिलेको स्थायी सरकारले काम गर्नसक्ने आधार भएको भन्दै उहाँले विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिनुभयो ।

बहुमतको सरकारले यो अवसरको सदुपयोग गरेर राष्ट्रियहितका लागि विकासलाई तीब्रता दिनुपर्ने उहाँको भनाइ थियो । निजी क्षेत्र र राज्यबीचको सम्बन्धविपरीत ध्रुवको जस्तो भयो भने त्यसले मुलुकको अर्थतन्त्रलाई असर पार्ने भन्दै पूर्वप्रधानमन्त्री भट्टाराईले दुवैबीच आपसी साझेदारी र समझदारीबाट नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । “अहिले देशको राष्ट्रिय एजेण्डा नै विकास र समृद्धि भएकाले विकास नीति के ? छिमेकको स्थिति के ? कुन रणनीति लिएर विश्वस्तरमा जाँदा सफल हुन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष किसान सुनारले व्यवसायी लगानी गर्न उत्सुक रहेको तर लगानीमैत्री वातावरणको अभाव र बजारको पहिचानमा पनि समस्या देखिएकाले विज्ञको सुझाव आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष यामनाथ पौडेलले राज्यको निजी क्षेत्रप्रतिको नीति स्पष्ट नभएसम्म व्यवसायी लगानीका लागि अग्रसर हुन नसकेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस