चितवन । सोमबार वीपी कोइराल मोमोरियल क्यान्सर अस्पताल भरतपुरमा म्याक्स फाउण्डेशनले क्यान्सरका विरामीसँग अन्तरक्रिया गरेको छ । क्यान्सर रोगीलाई निःशुल्क औषधि प्रदान गर्ने फाउण्डेशनले रक्त र आन्द्रा क्यान्सरका आफ्ना विरामीसँग विषेशज्ञ चिकित्सकसहित अन्तरक्रिया गरेको हो ।
सन् २००४ देखि म्याक्स फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका विरामीले ३ प्रकारका औषधिहरु वितरण गर्ने गरेको छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिभा र डासाटिनिभा नामक औषधि उपलब्ध गराउदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौं र भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा आउने गरेको छ ।
क्यान्सर अस्पतालमा यो औषधि वितरण सुरु गरेपछि अहिलेसम्म १ हजार २२ विरामीले सेवा लिएका छन् । जसमा ८ सय ८४ जना सिएमएल, ३१ जना र ग्याष्ट्रो स्ट्रोमल टियूमरका १ सय ७ जनाले सेवा लिएको अस्पतालका मेडिसिन अंकोलोजी विभाग प्रमुख डा. जया श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार हाल ६ सय ३० जनाले नियमित रुपमा निःशुल्क औषधिको सेवा लिईरहेका छन् । यो औषधि एक महिनाका लागि रु १ लाखदेखि ८ लाख पर्छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा म्याक्स फाउण्डेशनले सन् २०१८ मा मात्रै रु १ अर्ब ३६ करोड ४७ लाख ५० हजार मूल्यको औषधि पठाएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
रक्त र आन्द्राको क्यान्सरको औषधि भरतपुर क्यान्सर अस्पतालमा पठाईएको भएपनि फोक्सो र मृगौला क्यान्सरको औषधि पठाउन सकेको छैन । फोक्सो र मृगौला क्यान्सरको औषधि पाटन अस्पताल काठमाडौंमा मात्र वितरण भईरहेको म्याक्स फाउण्डेशनका साउथ एशिया रिजनल प्रमुख विजि बेङक्टेशले बताउनुभयो ।
‘भरतपुरमा पनि फोक्सो र मृगौला क्यान्सरको औषधि ल्याउने सोचमा छौ’ उहाँले भन्नुभयो,“फोक्सो र मृगौला क्यान्सरको औषधि भरतपुरमा वितरण गर्न आतुर छौ । म्याक्स फाउण्डेशन तपाईहरुको साथमा सधैव रहने बाचा गर्छु ।”
बेङक्टेशले नेपालमा स्वास्थ्य बीमाको सेवा प्रभाकारी नभएकाले क्यान्सरका रोगीसम्म औषधि पुराउने सक्दो कोशिस गर्ने बताउनुभयो ।
कार्यक्रममा वीपी कोइरला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले क्यान्सर रोगसँग डराउनुभन्दा यसलाई परास्त गर्नतर्फ सबै जना लाग्नुपर्ने बताउनुभयो । क्यान्सरका विरामीलाई थप प्रभावकारी उपचार गर्न अस्पतालको बेड क्षमतालाई विस्तार गरी सेवा दिईरहेको बताउनुभयो । “अहिले बेड क्षमता नभएर विरामीलाई भर्ना नगरि फर्काउनुपर्ने अवस्था छैन”उहाँले भन्नुभयो,“मेडिकल अंकोलोजिमा ब्लड क्यान्सरका विरमीका लागि छुट्टै वार्डबाट सेवा दिएका छौ ।”
अस्पतालका सेवालाई थप प्रभाकारी बनाउन व्यवस्थापकीय टिम लागिरहेकाले केमोथेरापी लिन नपाएर कोही विरामी फर्कनु नपर्ने उहाँको भनाई छ । कार्यक्रममा म्याक्स फाउण्डेशनमार्फत औषधि लिने विरामीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्पतालका उप–निर्देशक निर्मल लामिछाने, डा कृष्णसागर शर्मा, भोला सिवाकोटी, म्याक्स फाउण्डेशनकी नेपाल प्रतिनिधि श्वेता अग्रवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस