शान्ति सुरक्षामा उल्लेखनीय सुधार : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १७ : ००
शान्ति सुरक्षामा उल्लेखनीय सुधार : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशको शान्ति सुरक्षामा सुधार आइरहेको बताउनुभएको छ । उहाँले पछिल्लो समय चितवनमा शान्ति सुरक्षा बलियो बन्दै गइरहेको आफूलाई अनुभव भएको बताउनुभयो । 
भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा प्रहरी चौकीको भवन शिलान्यास गर्दै महानगर प्रमुख दाहालले शान्ति सुरक्षामा प्रहरी र स्थानीयको सहकार्य र समन्वय हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध र दुव्र्यसनी नियन्त्रण गर्न स्थानीयसँग मिलेर काम गर्नुपर्छ ।’ 
उहाँले अब यहाँको शान्ति सुरक्षा पनि मजबुद हुने विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगर विकासमा मात्र नभई शान्ति सुरक्षामा पनि अगाडि बढिरहेको छ, शान्ति सुुरक्षा पहिलेका भन्दा धेरै सुधार भइरहेको छ, यसमा सबैको भूमिका छ ।’
महानगर प्रमुख दाहालले महानगरले महिलाहरूलाई लक्षित गरेर धेरै कार्यक्रमहरू ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले दीर्घकालीन विकासका कार्यक्रमहरु अघि सारेको छ । अहिले झट्ट हेर्दा केही सडकहरु पक्की बनेको मात्र देखिन्छ, तर अबको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, लिंक रोड र रिंङ रोडका कार्यक्रमहरु अघि बढेपछि यहाँको विकासको प्रत्यक्ष अनुभव हुनेछ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्यटकीय क्षेत्र र व्यापारिक हब बन्दै गरेको पश्चिम चितवनको शान्ति सुरक्षाको लागि प्रहरी सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँको शान्ति सुरक्षामा स्थानीयले सहयोग गर्न जरुरी छ ।’  
कार्यक्रममा चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले व्यापारिक केन्द्र बन्दै गरेको पश्चिम चितवनमा अपराध र दुव्र्यसनी बढेको बताउँदै अपराध र गुण्डागर्दी नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीमात्र होइन स्थानीयहरू पनि सजग हुनुपर्ने बताउनुभयो । 
कार्यक्रमको अध्यक्षता गरेका भवन निर्माण समितिका अध्यक्ष अशोककुमार गुरूङले नवनिर्मित प्रहरी चौकी भवन  स्थानीयको सहयोगमा १५ लाख बराबरको लागतमा भवन बनाइने र स्थानीयहरूको सकृयतामा ४ लाख संकलन भैसकेको बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता टोपमानसिंह गुरूङ, पूर्वसांसद विष्णुमाया परियार, समाजसेवी भक्तबहादुर गुरूङ, भरतपुर महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष कर्णवाहादुर गुरूङलगायतले मन्तव्य दिएका थिए । 

प्रतिक्रिया दिनुहोस